Home मुख्य समाचार मदन भण्डारी फाउन्डेशनलाई ५० लाख दिने निर्णय फिर्ता हुने

मदन भण्डारी फाउन्डेशनलाई ५० लाख दिने निर्णय फिर्ता हुने

बिहीबार ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलसहितका सहभागीहरु ।

हेटौंडाः बागमती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेशनलाई ५० लाख रुपैयाँ दिने निर्णय फिर्ता लिने भएको छ । बिहीबार ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय सवारी खरिदको विस्तृत जानकारी संसदमा जानकारी गराउने र फाउन्डेशनलाई दिने ५० लाख फिर्ता लिने बताउनुभएको हो ।

बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले पटक–पटक विद्युतीय बसको खरिद प्रक्रिया रोक्न र फाउन्डेशनलाई ५० लाख रुपैयाँ दिने निर्णय फिर्ता लिन भन्दै संसद अवरुद्ध गर्दै आएको थियो । बैठकमा जेठ १६ मा बोलाइएको प्रदेशसभा सञ्चालनका बारेमा छलफल भएको हो ।

नेपाली कांग्रेसले पनि विद्युतीय बस र फाउन्डेशनलाई दिने सहयोगको विषयमा आफूहरुको माग सम्बोधन भए संसद चलाउन कुनै बाध नभएको जनाएको छ । बैठकमा प्रदेशले कोभिड–१९ विरुद्धको खोप ल्याएर नागरिकलाई लगाउने, कोभिडको रोकथाम र उपचारमा सरकार अघि बढ्नुपर्ने नेमकिपाका नेता सुरेन्द्रराज गोसाईंले बताउनुभएको छ । उहाँले नेमकिपाले नेतृत्व गरेको भक्तपुरको एक नगरमा संघीय सरकार र प्रदेश सरकारले कुनै सहयोग नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

भक्तपुरमा एमालेले नेतृत्व गरेको ३ नगरमा अक्सिजन प्लान्ट सञ्चालन गर्न ९ करोड बजेट विनियोजन गरेको तर नेमकिपाले नेतृत्व गरेको नगरमा बजेट नछुट्याएकोप्रति नेमकिपाले विरोध गरेको छ । मुख्यमन्त्री पौडेलले यसबारे ध्यान दिने बताउनुभएको छ । बैठकमा कोभिड केन्द्रित भएर सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आउनुपर्ने विपक्षी दलका नेताहरुले बताएका थिए ।

बैठकमा नेपाली कांग्रेसका नेताहरु ईन्द्रबहादुर बानियाँ, राधा घले, माओवादीका नेताहरु शालिकराम जम्मकट्टेल, युवराज दुलाल, नेमकिपाका सुरेन्द्रराज गोसाई, विवेकशीलका रमेश पौडेल, राप्रप्राकी रिता माझी, एमालेबाट दीपक निरौलालगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version