
हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा दैनिक अक्सिजन सिलिन्डर सँगै स्वास्थ्य सामग्रीहरु सहयोग भइरहेको छ । एक संस्थाले ९ लाख रुपैयाँ अक्सिजन खरिद गर्न अस्पताललाई प्रदान समेत गरेको छ । यसैगरी विभिन्न संघ–संस्था तथा व्यक्तिहरुले पनि अक्सिजनको लागि दैनिक सहयोग गर्दै आएका छन् । हेटौंडा अस्पतालमा अक्सिजन सिलिन्डर सहयोग भइरहेकै कारण अक्सिजन अभाव नभएको बताउँनुहुन्छ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रामचन्द्र सापकोटा ।
उहाँले अस्पतालमा अक्सिजन सिलिन्डर सहयोग नहुने हो भने अभाव सिर्जना हुने भन्दै सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको छ । अहिले हेटौंडा अस्पतालमा दैनिक १ सय ८० देखि २ सय सम्म अक्सिजन सिलिन्डर खपत भइरहेको छ ।
कोभिड बिरामीहरुलाई उच्च अक्सिजन दिनुपर्ने भएको कारण आवश्यकता अनुसार उनीहरुलाई अक्सिजन दिएर राखिएको उहाँले बताउनुभयो । सहयोगीहरुले अक्सिजन सँगै अस्पताललाई अहिले पिपिई, मास्क, स्यानीटाइजर पनि सहयोग गरिरहेका छन् । यी सबैभन्दा धेरै खपत भइरहेको छ । दैनिक १ सय पिपिई अस्पतालमा खपत हुने गरेको छ । यस्ता स्वास्थ्य सामग्री अस्पतालमा बढी आवश्यकता हुने मेसु सापकोटा भन्नुहुन्छ ।
चिकित्सहरुले कोभिडको पहिलो लहरमा चैत्र देखि कात्तिकसम्मको जोखिम भत्ता पाएका छन् । कात्तिकदेखिको भने जोखिम भत्ता प्राप्त नभएको अस्पतालका मेसु सापकोटाले जानकारी दिनुभयो । जोखिम भत्तासम्बन्धी निर्देशीका आइनसकेकोले वितरण नगरिएको उहाँको भनाई छ । यस्तै अस्पतालले आजबाट सातामा २ दिन बन्द भएका ओपिडी सेवाहरु सञ्चालनमा ल्याएको छ ।
कोभिड संक्रमणको जोखिमको समयमा अतिआवश्यक भएको सेवाग्राहीहरु मात्र ओपिडी सेवा लिन आउने उहाँले जानकारी दिनुभयो । बिहीबार पनि पाँच छ जनामात्र ओपिडी सेवा लिन आएको उहाँले बताउनुभयो । पहिलेको जस्तो ओपिडीमा भिडभाड भने नहुने भन्दै आवश्यक परेका सेवाग्राहीलाई मात्रै सेवा लिन आउँन उहाँले आग्रह गर्नुभयो । अस्पतालमा पहिलेदेखि नै आकस्मिक र प्रसुतिसम्बन्धी सेवा संचालनमा थियो । अब नाक, कान घाटी सेवा, फिजिसिएन, हाडर्जोनी, बालरोग सेवा सातामा २ दिन खुल्नेछ ।