नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष अरुणकुमार दाहाल रक्तदातालाई व्लडव्याग हस्तान्तरण गर्नुहुँदै ।

हेटौंडाः कोभिड–१९ महामारीका कारण रगतको अभावको स्थितिमा जेसीआई हेटौंडा लेडीले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तसञ्चार केन्द्रमै पुगेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् ।

रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको भन्ने खबर प्राप्त भएपछि ३ दिनअघि मात्रै रक्तदान कार्यक्रम तय गरिएको जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो । नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष अरुणकुमार दाहालले रक्तदातालाई व्लडव्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको सुरुवात गरिएको थियो । रक्तदान कार्यक्रममा जेसीआई हेटौंडा लेडीकी पूर्वअध्यक्ष रश्मि बस्नेतको पनि उपस्थिति रहेको थियो ।

जेसीआई हेटौंडा लेडीले कोरोना महामारीको समयमा सर्वसाधारणलाई सचेतना अभिवृद्धि गर्ने, विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गर्ने, हेटौंडा अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गर्ने लगायतका कार्य गर्दै आएको छ । सामाजिक सेवाका लागि स्थापित संस्थाका जेसीआई हेटौंडा लेडीले आफ्ना पदाधिकारी तथा सदस्यहरुको सहभागितामा स्वास्थ्य सतर्कताका उपाय अपनाएर सहयोगीको साथ र सहयोगमा आवश्यक कार्य गरिरहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।