हेटौंडाः मकवानपुर जिल्लामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार ३७४ जनाको स्वाब नमूना परीक्षण गर्दा २०५ जना (४५ प्रतिशत) मा कोरोना संक्रमण पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले मंगलबार सार्वजनिक गरेको कोरोना संक्रमितको विवरण ।

दैनिक रुपमा परीक्षणको रिपोर्ट सार्वजनिक गर्दै आएकोमा सोमबार परीक्षण रिपोर्ट सार्वजनिक नहुँदा मंगलबार उल्लेख्य संख्यामा संक्रमित देखिएको हेटौंडा उपमहानरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईको भनाइ छ ।

संक्रमित मध्ये ८१ जना महिला र १२४ पुरुष छन् । मंगलबार कोरोना संक्रमण पुष्टि हुनेमा १२ जना बालबालिका र ७५ वर्षभन्दा बढी उमेरका ४ जना ज्येष्ठ नागरिक समेत छन् ।

हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखामार्फत हेटौंडा–१०, गोरक्षेश्वरधाममा स्वाब नमूना संकलन केन्द्र स्थापना गरिएको छ । जिल्लाभरका स्वास्थ्य संस्थामार्फत सिफारिस भएर आएका व्यक्तिको स्वाब नमूना दैनिक रुपमा संकलन गरी दैनिक परीक्षण नतीजा समेत सार्वजनिक गर्दै आएको छ ।