हेटौंडाः हेटौंडाको विभिन्न स्वास्थ्य संस्थामा ८२ जना कोभिड–१९ संक्रमितको उपचार भइरहेको छ । सबैभन्दा धेरै हेटौंडा अस्पतालमा ४७ जना गम्भिर किसिमका सङ्क्रमितहरुको उपचार भइरहेको छ । अस्पतालमा उपचाररत गम्भिर संक्रमितहरु ८ जनालाई रेम्डिसिभिर खोप दिइएको छ ।
उनीहरुलाई खोप दिइएपनि त्यसको प्रभाव खासै नभएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले बताउनुभयो । रेम्डिसिभिर खोप लगाएको संक्रमितको पनि मृत्यु भइरहेको बताउँदै प्रभावकारी नभएको उहाँको भनाई छ । यस्तै अस्पतालमा अहिले दैनिक अक्सिजन सिलिन्डर जुट्दै छ । निजी क्षेत्रबाट पनि अक्सिजन सिलिन्डर साथै अन्य सामग्रीहरु हेटौंडा अस्पताललाई जुट्दै आएको हो ।
आज अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष पदका उम्मेदवार राजकुमार न्यौपानेको प्यानलले सहयोग गरेको छ । यस्तै युर्निलिभरले एक हजार पिस एन ९५ मास्क, १ हजार ८ सय ७२ पिस लाइफबोइ हातधुन साबुन, २ लिटर डिसइन्फेक्टेड सहयोग गरेको छ ।
यता हेटौंडा–१, स्थित मकवानपुर सहकारी अस्पतालमा ५ जना संक्रमित, चुरेहिल अस्पतालमा २ जना संक्रमित उपचाररत छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । यस्तै गौरिटार आइसोलेसनमा २८ जना संक्रमितहरु उपचाररत छन् ।