हेटौंडाः मकवानपुरमा प्रहरीले एक सय किलो लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले नामटार तर्फबाट हेटौडा तर्फ आउँदै गरेको ना २ ख ९८६२ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा ट्रकको क्याभिनको भागको हुटमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १७ वटा पोकामा लागुऔषध गाँजा बरामद गरेको हो ।

प्रहरीले ट्रकसहित ट्रक चालक काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ को ४९ वर्षीय आईते बहादुर ठाडामगर, भीमफेदी गाउँपालिका–१ स्थितबाट गाँजा ओसार पसारमा संलग्न वडा नम्बर ९ का ऐक्ला भन्ने राज कुमार तामाङ र कैलाश गाउँपालिका–१० का सविन भन्ने सुबिन रुम्बालाई पक्राउ गरेको छ ।

उनीहरुले गाँजा बिक्रिको लागि हेटौंडा ल्याउँदै गरेको सुचना प्रहरीले पाएलगत्तै उनीहरुको ट्रकलाई प्रहरीले चेकजाँच गरेको थियो । उनीहरुलाई आज सार्वजनिक गर्दै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।