हेटौंडाः कोभिड–१९ संक्रमण नियन्त्रण र स्वास्थ्य उपचारमा सहयोग पुर्याउन गैरसरकारी संस्थाहरुले पहल गर्ने भएका छन् । गैरसरकारी संस्था महासंघ मकवानपुर शाखाले आईतबार आयोजना गरेको मकवानपुरमा कोभिड संकट व्यवस्थापनमा नागरिक समाज संघसंस्थाको भूमिका विषयक भर्चुअल छलफल कार्यक्रममा बोल्दै गैरसरकारी संस्थाकर्मीले यस्तो बताएका हुन् ।

गैरसरकारी संस्था महासंघ वाग्मती प्रदेश ईन्चार्ज बुद्धशरण लामाले जटिल परिस्थितीमा अत्यावश्यक अक्सिजन सहयोग गर्दै सरकारसँग समन्वय र सहयोग गर्नुपर्नेमा जोड दिए । ‘सरकारले गैससलाई अग्रपङ्गीमा नराखेका कारण सहयोग गर्न समस्या परेको हो,’ उनले भने, ‘कार्ययोजना बनाएर संक्रमितसँग सम्पर्कगरी सरोकारवालालाई सुझाव र दबाब दिनुपर्छ ।’

गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालले कार्ययोजना बनाएर नियमित साप्ताहिक छलफल गरी आवश्यक सहयोग र पहल गर्ने बताए । सिविन बाल हेल्पलाईनका कार्यक्रम अधिकृत झविन्द्र ज्ञवालीले महामारीमा बालबालिका र महिला सबैभन्दा समस्यामा पर्ने भएकाले उनीहरुलाई राहत र उद्धारमा उच्च प्राथमिकता दिनुपर्ने बताए । मकवानपुरमा १८ जना बालबालिका कोरोना संक्रमित भएको जानकारीमा आएको उनले बताए ।

गैरसरकारीसंस्थाकर्मी कोपिला डंगोलले हेटौंडा बसपार्कमा राखिएको कंक्रिटको ठेकी भन्दा अक्सिजन अत्यावश्यक भएको भन्दै स्थानीय सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताईन् । कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान(एनसीई) वाग्मती प्रदेश संयोजक प्रकाश खतिवडाले गम्भीर अवस्थामा गैरसरकारी संस्थाले आलोचना गर्नु भन्दा सरकारलाई सहयोग गर्नुपर्ने तर्क गरे । कार्यक्रममा नागरिक समाज, गैरसरकारी महासंघका कार्यसमिति, संघसंस्थाको प्रतिनिधि, पत्रकारसहित ३४ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरका सचिव बोलबहादुर कार्कीले सहजिकरण गरेका थिए ।