हेटौंडाः कोभिड–१९ संक्रमण तिब्र बन्दै गएपछि गरिएको निषेधाज्ञाको प्रभाव सामाजिक सुरक्षा भत्ता वितरणमा पनि परेको छ । निषेधाज्ञामा यातायात सञ्चालन नहुँदा भत्ता लिन बैंकसम्म आउन नसक्ने अवस्था बनेको हो ।
सामाजिक सुरक्षा भत्ता लिन आउने सेवाग्राहीले बैंक तथा अन्यत्र भिडभाड बढ्ने र कोरोना भाइरस संक्रमणको जोखिम हुने भएपछि स्थानीय प्रशासनले जनप्रतिनिधिलाई भत्ता वितरणमा आवश्यक सहजीकरण गरिदिन आग्रह गरेको थियो । कतिपय जनप्रतिनिधिले चेक संकलन गरेर ल्याउने र बैंकबाट चेक साटेर नगद वितरण गर्ने गरिरहेका छन् ।
यसैक्रममा बिहीबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ का केही व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सहारा टोल विकास संस्थाका अध्यक्ष अशोककुमार डिम्डुङले घरदैलोमा गई सामाजिक सुरक्षा भत्ताबापतको रकम वितरण गर्नुभएको छ । डिम्डुङले जेष्ठ नागरिक, पूर्ण/आंशिक अपाङ्गता, एकल महिला, दलित बालपोषण लगायतका विभिन्न शीर्षकका भत्ताबापत एक लाख ४० हजार ८ सय रुपैयाँ वितरण गर्नुभएको हो ।