हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार जिल्लाका ४ स्थानीय तहमा लगाइएको निषेधाज्ञा अटेर गर्ने ५ पसले र ९६ सवारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दिएको आदेशको अटेर गरेर चलाएको मोटरसाइकल र स्कुटर ७३ वटा, अटो १८ वटा, ट्याक्सी ३ वटा र सुमो एउटा गरी ९५ वटा सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।

निषेधाज्ञाका अन्य दिनहरुमा पानी परेपछि प्रहरीले चेकजाँच गर्न छाड्ने गरेपनि बिहीबारको दृश्य फरक देखियो । मकवानपुर जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर आफैं हेटौंडाको बुद्धचोकमा चेकजाँच गर्न बसेका थिए । जिल्ला प्रहरी प्रमुख स्वयम् वर्षात्मा भिज्दै चेकजाँचमा सक्रिय भएका थिए ।

प्रहरीले नियन्त्रणमा लिएको ५ पसलेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाएको थियो । उनीहरुलाई बिहीबार दिनभर होल्ड गरेर राखिएको र एक सय रुपैयाँका दरले जरिवाना गरी पहिलो पटकको लागि छोडिएको प्रमुख जिल्ला अधिकारी भरमणि पाण्डेले बताउनुभयो । उहाँले अर्को पटक यस्तो अटेर गरेमा १ महिना कैद गरिने चेतावनी दिनुभएको छ ।

नियन्त्रणमा लिइएको सवारी साधनहरु सम्बन्धित धनीलाई बुझाएर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नियन्त्रणमा लिइएको सबै सवारीका चालकहरुलाई कोरोना भाइरस संक्रमणको जोखिमबारे बुझाई सतर्क गरेरमात्रै छाडिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।