हेटौंडाः हेटौंडामा तरकारी व्यवसायीहरुले पसल खुल्ने समय बढाउन माग गरेका छन् । प्रशासनले बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र दैनिक उपभोग्य वस्तुहरुका पसल खोल्न दिने गरेको भएपनि तरकारी बिक्री नभएपछि व्यवसायीहरुले समय बढाउन माग गरेका हुन् । उनीहरुले साँझ २ घण्टा थप वा बिहानै २ घण्टा बढी बजार खुलाउन माग गरेका हुन् ।
‘१५ हजारको तरकारी किनेर ल्याउँछु, ५ हजारको पनि बिक्री हुन मुस्किल छ’, व्यवसायी लालबाबु जैसवालले भन्नुभयो, ‘तरकारी बिक्री नहुँदा गाईलाई खुवाउन पठाउनु परेको छ ।’ एकै दिनमा तरकारी ओइलाउने र बिग्रने हुँदा तरकारी व्यापारीले ठूलो नोक्सान सहनु परेको उहाँले बताउनुभयो । ‘ग्राहकहरुले ताजै तरकारी खोज्छन्, हिजोकै तरकारी बिक्री भएको हुँदैन’, जैसवालले भन्नुभयो– ‘ग्राहकले बासी तरकारी खरिद गर्न मन गर्दैनन् ।’
यस्तो समस्या उहाँको मात्रै होइन, अधिकांश थोक तथा खुद्रा तरकारी व्यवसायीको हविगत यही छ । हेटौंडा–४, खोपेगल्लीमा तरकारी व्यापार गर्दै आउनुभएका उपेन्द्र ठाकुर पनि दैनिक ४ हजार रुपैयाँको तरकारी होलसेल पसलबाट खरिद गरेर बेच्न ल्याउँदा एक हजारको मात्रै बिक्री हुने गरेको बताउनुहुन्छ । उहाँले बिहान ५ बजेदेखि ८ बजेसम्म बजार खुल्ने समय निकै कम भएको बताउनुभयो । बेलुका २ घण्टा थप बजार खुले सबै तरकारी बिक्री हुने उहाँको भनाई थियो ।
त्यसो त होलसेल तरकारी पसलहरुको पनि समस्या उस्तै छ । ‘तरकारी त बिक्रीको लागि किसानहरुले पठाउने गरेका छन्, तर खुद्रा व्यवसायीले कमै लिएर जान्छन्’, होलसेल तरकारी व्यवसायी शारदा खुलाल भन्नुहुन्छ, ‘बजार खुल्ने समय हामीलाई चित्तै बुझेको छैन ।’ ‘बिहान ८ बजेसम्म बजार खुल्ने भनिए पनि साढे सात बजे नै प्रहरी बन्द गराउन आइपुग्छन्’, उहाँले भन्नुभयो । होलसेल तरकारी पसललाई बिहान एक घण्टा थप गरेर ९ बजेसम्म र खुद्रा तरकारी पसललाई बिहान २ घण्टा थप गरी १० बजेसम्म खुल्न दिनुपर्ने उहाँको माग छ ।
तरकारी व्यवसायी संघ मकवानपुरका उपाध्यक्षसमेत रहनुभएकी खुलालले बिक्री नहुँदा तरकारीको मूल्य घटेको जानकारी दिनुभयो । बजारमा तरकारीको मूल्य घट्दा किसान मारमा पर्ने उहाँको भनाई छ । किसानले बजारसम्म तरकारी लोड गरेर पठाइदिए पनि बिक्री नहुँदा कम मूल्य पाउँछन् । आधा तरकारी त खेर जान्छ । हेटौंडामा दामन, पालुङ, बज्रबाराही, मनहरी, हटिया, गढी, हाँडीखोलालगायतका स्थानहरुबाट किसानहरुले उत्पादन गरेको तरकारी बिक्रीका लागि पठाउने गरेका छन् ।