हेटौंडाः नेपाली कांग्रेसले गठन गरेको कोभिड १९ अनुगमन समिति मकवानपुरले दोश्रो लहरको कोरोनाको संक्रमणको जोखिमलाई न्युनिकरण गर्न फ्रण्टलाईनमा खटिने पत्रकार, नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई आइतबार स्वास्थ्य सामग्री तथा आर्थिक सहयोग गरेको छ ।
समितिका मकवानपुर संयोजक उत्सव ईटेनीले पत्रकार महासंघ मकवानपुर शाखालाई २ सय ५० थान सर्जिकल माक्स, २७ थान हेण्ड सेनिटाईजर, ५१ थान एन ९५ मास्क र फ्रण्टलाईनमा खटिने पत्रकारहरुको स्वास्थ्य सुरक्षाको क्षेत्रमा खर्च गर्नेगरी पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमलाई नगद ३० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
त्यसैगरी समितिले आइतबार नै वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक कृष्ण विष्टलाई २ सय थान सर्जिकल माक्स, ५१ वटा हेण्ड सेनिटाईजर, ५१ थान एन ९५ माक्स र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश पाण्डेलाई ४० वटा हेण्ड सेनिटाईजर, सर्जिकल मास्क १ सय थान तथा ४० थान एन ९५ मास्क हस्तान्तरण गरिएको हो ।
संयोजक ईटेनीले मकवानपुरका १० वटै स्थानीय तहमा कोरोनाको दोश्रो लहरले पारेको प्रभाव र अवस्था बारे अनुगमन गर्ने र अवस्था हेरी अत्यावश्यक खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा समितिका सचिव गौतम, कोषाध्यक्ष जानुका गिरी, सदस्यहरु रामकृष्ण कोइराला, सञ्जय श्रेष्ठ, सुनिल गिरी, सुजन विडारी, सुधिर दाहाल, डोल्मा स्याङ्वो, मदन जोशीको उपस्थिति रहेको थियो ।