हेटौंडाः नेपालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित गरेर थुप्रै संघसंस्थाहरु क्रियाशील छन् । यस्ता संघसंस्थाले लक्षित वर्गको हक, अधिकारका लागि विभिन्न क्रियाकलाप पनि सञ्चालन गरिरहेका छन् । समाजमा रहेका विकृति, विसंगति तथा समस्याविरुद्ध क्रियाशील संघसंस्था धेरै भए पनि विविध समस्याबाट पीडित बनेर सडकमा आएका मानिसलाई आश्रय दिने संघसंस्था भने ज्यादै कम छन् ।
सहाराविहीन भएर सडकमा आइपुगेका अशक्त, असहाय तथा मनोरोगीहरुलाई सेवा दिँदै आएको मानवसेवा आश्रमले सामाजिक संस्थाको भिडमा आफूलाई विशिष्ट पहिचान दिलाउन सफल बनेको छ । सहयोगापेक्षी सडक मानवमुक्त देश निर्माण गर्ने दृढ संकल्प लिएर अघि बढिरहेको मानवसेवा आश्रम साँच्चै सहयोगापेक्षीहरुको आश्रयस्थल बनिरहेको छ । आश्रमले सहयोगापेक्षी सडक मानवलाई सडकबाटै उद्दोर गरेर आश्रममा आश्रय दिनुका साथै घरपरिवार खोजी गरेर पुनर्मिलनसमेत गराउँदै आएको छ ।
सडकमा कुनै पनि मानिसले कष्टपूर्ण जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले मानवसेवा आश्रमको सुरुवात भएको हो । मकवानपुरको हेटौंडाबाट सुरु भएको मानवसेवा आश्रम र सहयोगापेक्षी सडक मानवमुक्त अभियान अहिले देशव्यापी बनेको छ । आश्रमलाई मानव सेवा प्रवद्र्धनमा सघाउन थुप्रै अभियन्ताहरु जुटेका छन् ।
मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडामा अहिले २ सय २० जना व्यक्तिहरु आश्रित रहेको मानवसेवा आश्रम मकवानपुरका संयोजक होमनाथ पौडेलले बताउनुभयो । ९० जना बृद्धा, एक सय २० जना बृद्धा र १० जना बालबालिका आश्रममा अश्रित रहेको पौडेलले जानकारी दिनुभयो ।
हेटौंडामा कुख्रेनी सामुदायिक वन उपभोक्ता समूहले उपलब्ध गराएको जमिनमा आश्रमको सुविधासम्पन्न भवन निर्माण भएको भए पनि आश्रमको स्थायी आम्दानीको स्रोत नहुँदा समयसमयमा खाद्यान्न अभाव हुने गरेको संयोजक पौडेलले बताउनुभयो । कोभिड–१९ ले विश्वलाई नै प्रभावित पारिरहेको अवस्थामा मानवसेवा आश्रमलगायत अन्य सामाजिक संस्थामा पनि यसको असर परेको छ । आश्रितहरुलाई संरक्षण दिइरहेको मानवसेवालगायतका आश्रमहरुमा खाद्यान्नको अभाव हुने गरेको हो ।
आश्रमका समस्याबारे जानकारी गराउने उद्देश्यले संयोजक पौडेलसहितको टोलीले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख गोपाल कंडेलसँग शुक्रबार भेट गरेको छ । भेटमा कँडेलले मानवसेवा आश्रममा खाद्यान्न अभाव भएमा महाशाखाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महाशाखाले अपाङ्गता, लैंगिक हिंसा, यौनिकता र अल्पसंख्यकको संरक्षण र विकासमा कार्य गर्ने भएकाले आश्रमलाई सहयोग गर्ने कँडेलले जानकारी दिनुभयो ।