प्रहरीले नियन्त्रणमा लिएको गाँजा ढुवानी गर्न प्रयोग भएको सुमो ।

हेटौंडाः त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसेस्थित प्रहरी चौकी भैंसेमा सुरक्षाजाँच गर्न खोज्दा भागेको सुमोबाट प्रहरीले गाँजा बरामद गरेको छ । काठमाडौंबाट बीरगंजतर्फ जाँदै गरेको ना १ ज ४७३३ नम्बर को सुमोबाट प्रहरीले बुधबार दिउँसो १२ बजेको समयमा गाँजा बरामद गरेको हो ।

प्रहरीलाई छलेर भागेसँगै सुमोबाट फालिएको गाँजा बरामद गर्दै प्रहरी ।

काठमाडौंबाट बीरगन्जतर्फ जाँदै गरेको सुमो लामिटारस्थित एक होटलमा यात्रुलाई खाना खान छाडेर गाउँतर्फ गई गाँजा लिएर आएको भन्ने सुराकीका आधारमा भैंसे प्रहरीले रोक्न खोजेको थियो । भैंसे प्रहरीले रोक्न खोज्दा तीव्र गतिमा भागेको सुमोलाई स्थानीयको समेत सहयोगमा प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।

प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले सुरक्षाजाँचका लागि रोक्न खोज्दा भैंसेबाट भागेको सुमोलाई प्रहरीले ९ किलोमिटर टाढा भीमफेदी–१, सामरीबाट नियन्त्रणमा लिएको थियो । भैंसेबाट प्रहरीको सुरक्षाजाँचलाई छलेर भागेको सुमोमा ल्याइएको २८ केजी गाँजा भीमफेदी–१, सुन्दरीमाई मन्दिर नजिक प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले सुमोसँगै बीरगंज घर भएका चालक ३५ बर्षका रबिन्द्र उपाध्यायलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।