बुधबार ६ नम्बर वडामा बाँदर धपाउने यन्त्र वितरण गरिँदै ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बाँदर धपाउने यन्त्र किसानलाई वितरण गरेको छ । टोल विकास संस्थामार्फत उपयोग गर्ने गरी गाउँपालिकाले पालिकाका सबै वडामा बाँदर धपाउने यन्त्र वितरण गरेको हो । मंगलबार ४ नम्बर वडाबाट बाँदर धपाउने यन्त्र वितरण गर्न सुरु गरिएको गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले एउटा टोल विकास संस्थालाई बढीमा १० वटा यन्त्र वितरण गरिने जनाएको छ । बैशाख १९ गतेसम्ममा सबै वडामा बाँदर धपाउने यन्त्र वितरण गरिसक्ने कृषि शाखा प्रमुख चौधरीले बताउनुभएको छ । गाउँपालिकाले ५ लाख रुपैयाँमा २ सय ८० थान यन्त्र खरिद गरी वितरण गर्न सुरु गरेको हो । बुधबार ६ नम्बर वडाका किसानलाई यन्त्र वितरण गरिएको छ । प्रयोग गर्ने तरिका पनि सिकाएर बाँदर धपाउने यन्त्र वितरण गरिएको छ ।

मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर २, ३ र ४ बढी प्रभावित क्षेत्र हो । वडा नम्बर १ र ८ भने कम प्रभावित क्षेत्र रहेको चौधरीको भनाइ छ । बाँदरसँगै मृग र बँदेलले पनि किसानको बालीमा क्षति पुर्‍याइरहेको छ । गाउँपालिकाका किसानले यसअघि पनि बाँदर धपाउने यन्त्र प्रयोग गरिरहेको र प्रभावकारी देखिएकोले सोही उपकरण वितरण गर्न सुरु गरिएको चौधरीले बताउनुभयो ।

गाउँपालिकाले वितरण गरेको यन्त्रमा कार्वाइड राखेर एकपटक पड्काउँदा ५/७ दिन बाँदर नआउने बताइएको छ । बाँदरको प्रभाव भएको क्षेत्रका किसानलाई गाउँपालिकाले बाँदरले क्षति नपुर्‍याउने किसिमका खेती गर्न पनि प्रेरित गरिरहेको छ । चालु आर्थिक वर्षमै गाउँपालिकाले ७० प्रतिशत अनुदानमा २ टन अदुवा र ४ टन बेसारको बीउ वितरण गरेको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभएको छ । मकवानपुरगढी गाउँपालिकाले पालिकाका किसानलाई खाद्यान्न तथा नगदे बालीमा प्रेरित गर्न विविध कार्यक्रम सञ्चालन गरिरहेको छ ।