हेटौंडाः पछिल्लो समय देश विदेशमा अक्सिजनको अभाव भइरहेको छ । कोभिडको दोस्रो लहरमा अक्सिजन अभाव हुन नदिन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले व्यवसायीसँग मौज्दात भएको अक्सिजनको विवरण माग गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको कोभिड–१९ संकट व्यस्थापन केन्द्रको बैठकले अक्सिजनको अभाव हुन नदिन निरन्तर अनुगमन गर्न जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई जिम्मेवारी प्रदान गरेको छ ।
यस्तै हेटौंडामा रहेको पार्टी प्यालेसहरु आजबाट सबै बन्द हुने भएका छन् । यसअघि पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध गर्न प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृती लिनुपर्ने भनिए पनि आजबाट पूर्ण रुपमा हेटौंडका पार्टी प्यालेसहरु बन्द हुने भएका हुन् । कोभिडको संक्रमण बढ्ने जोखिम भएको भन्दै यस्तो निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनुभयो ।