आरबी पौडेल

हेटौंडाः विश्वमै लोकप्रिय खेल फुटबल नेपालमा पनि उत्तिकै लोकप्रिय छ । मकवानपुरमा पनि सबैभन्दा बढी रुचाइने फुटबलममा जिल्लाबाट थुप्रै राष्ट्रियस्तरका खेलाडीहरु उत्पादन भएका छन् । जिल्लाका कतिपय क्लबले खेल क्षेत्रमा सहभागिता जनाउँदै जिल्लाको नाम राखेका छन् भने कतिपय क्लबले खेलाडी उत्पादनमा जोड दिँदै आएका छन् ।

हेटौंडामा फुटबल खेलाडी उत्पादन गर्ने क्लबभन्दा प्रायः सबैको मुखमा आउने नाम हो, ‘हेटौंडा फुटबल एकेडेमी’ । एकेडेमीले ग्रासरुटदेखि नै फुटबल खेल्न इच्छुक खेलाडीलाई राष्ट्रियस्तरको खेलाडी बन्न सहयोग गर्दै आएको छ । जसको श्रेय पूर्णरुपमा एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भीम लामालाई जान्छ ।

तिनै प्रशिक्षक लामा अहिले महिला फुटबलको विकासमा सक्रियरुपमा लागिरहनुभएको छ ।करिब ६ वर्षदेखि एकेडेमी सञ्चालन गरी पुरुष फुटबल खेलाडी उत्पादन गर्दै आउनुभएका प्रशिक्षक लामाले अहिले महिला फुटबललाई पनि विकास गर्नुपर्छ भन्दै लागिरहनुभएको छ । फुटबल खेल्न इच्छुक मकवानपुर जिल्लाका महिला खेलाडीहरुलाई करिब ३ महिनादेखि ग्रासरुटस्तरबाट नै प्रशिक्षण प्रदान गरिरहनुभएका प्रशिक्षक लामाले अहिले खेलाडीलाई प्रशिक्षणसँगै अनुभव प्रदान गर्न सुरु गर्नुभएको छ ।

२ हप्ताको अन्तरालमा एकेडेमीले महिला खेलाडीलाई ३ वटा मैत्रीपूर्ण खेल खेलाउँदै खेलाडीहरुलाई अनुभव बटुल्न सहयोग गरेको छ । प्रशिक्षणपछि खेलाडीले के कति सिकेका छन् भनेर परीक्षा लिनका लागि मैत्रीपूर्ण फुटबलले निकै मद्दत पुग्ने प्रशिक्षक लामाले बताउनुभयो । लामाले मैत्रीपूर्ण खेलबाट खेलाडीसँगै आफ्नो पनि परीक्षा हुने बताउनुभयो । उनीहरुले कति सिके भन्दा पनि आफूले कति सिकाउन सकेँ भन्ने बुझ्न पनि मैत्रीपूर्ण खेलले सहयोग गर्ने उहाँले बताउनुभयो । हालको अवस्थामा मकवानपुरभरिमा नै सम्भवत महिलाहरुको यही एउटा टिम रहेको पनि लामाले दाबी गर्नुभयो । हाल एकेडेमीमा १५ जना महिला खेलाडी प्रशिक्षणरत भएपनि समय अभाव र परिवारको कारण केही खेलाडी नियमित प्रशिक्षणका लागि आउन नसकेको भन्दै प्रशिक्षक लामाले फुटबल खेल्न रुचि राख्ने महिला बहिनीहरुलाई प्रशिक्षण प्रदान गर्न परिवारले समेत सघाउन आग्रह गर्नुभएको छ ।

पुरुष फुटबलमा जस्तै महिला फुटबलमा पनि एकेडेमीले राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर प्रशिक्षण प्रदान गरिरहेको उहाँले बताउनुभयो । यस्तै मैत्रीपूर्ण खेलकै क्रममा एकेडेमीले शनिबार महिला फुटबल टिमलाई लिएर नवलपुर जिल्ला गएको छ । नवलपुरको गैंडाकोटस्थित बर्चुली माविको महिला फुटबल टिमसँग शनिबार मैत्रीपूर्ण खेल आयोजना गरिएको प्रशिक्षक भीम लामाले बताउनुभयो । एकेडेमीले आफ्नै खर्चमा १५ जना खेलाडी, प्रशिक्षक र टिम म्यानेजरलाई नवलपुर लैजान लागेको हो । खेलमा कुनै पुरस्कार नभएको र खेलाडीलाई अनुभव प्रदान गर्न नै लैजान लागेको लामाले बताउनुभयो । यसअघि प्रशिक्षक लामाले महिला फुटबल टिमलाई मैत्रीपूर्ण खेलकै लागि बारा जिल्लाको अमलेखगञ्ज र कलैया लगिसक्नुभएको छ ।

वि.सं. २०६३ सालमा संकटा क्लबबाट ए डिभिजन फुटबल खेल्नुभएका भीम लामाले विगत ६ वर्षको अन्तरालमा प्रशिक्षकको भूमिका निर्वाह गरी हाल बी र सी डिभिजन लिग फुटबल खेलिरहेका मनिष पौडेल, मिलन स्याङ्तान, प्रताप तामाङ, राजकुमार स्याङ्तान, मनिष घलान, सञ्जय लामा, आशिष मोक्तानलगायत खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पु¥याउनुभएको छ ।

खेलाडी उत्पादनमा जोड दिएको एकेडेमी भने अझै पनि सहयोगकै आसमा बस्नुपरेको छ । केही व्यक्तिहरुले थोरैथोरैरुपमा प्रदान गरिरहेको सहयोग र प्रशिक्षणमा आउने खेलाडीले दिएको केही शुल्कको भरमा एकेडेमी चलिरहेको भन्दै प्रशिक्षक लामाले फुटबलको विकासमा जोडदाररुपले लागेको एकेडेमीलाई बेवास्ता गरिएकोप्रति दुःख व्यक्त गर्नुभयो ।आर्थिक अभावकै कारण खेलाडीहरुलाई एकेडेमीबाट विभिन्न प्रतियोगितामा सहभागी गराउन नसकिएको उहाँले बताउनुभयो । उहाँले खेलाडीको विकासका लागि खेलप्रेमी महानुभावहरुलाई समेत सकेको सहयोग प्रदान गर्न अनुरोध गर्नुभएको छ ।