हेटौंडाः मुक्तककार दीपक गौतमको मुक्तक संग्रह विसङ्गत वर्तमान विमोचन तथा विमर्श गरिएको छ । झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्षसमेत रहनुभएका गौतमको पहिलो मुक्तक संग्रह शुक्रबार विमोचन गरिएको हो ।
सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भएको मुक्तक संग्रहको विमोचन एवम् विमर्श कार्यक्रमका प्रमुख अतिथि मुक्तककार एवम् काव्य सरुभक्तले कृतिको विमोचन गर्नुभएको हो । विमोचन गरिएको कृतिमाथि विभिन्न मुक्तककार तथा साहित्यकारहरुले समीक्षा एवम् आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको सभाध्यक्षता रहेको विसङ्गत वर्तमान विमोचन तथा विमर्श कार्यक्रममा मुक्तककार हरिकृष्ण काफ्ले, बलराम गौतम, लोकेन्द्र डहरे, सन्तोष अम्गाईं, आरसी रिजाल, रमेशमोहन अधिकारीलगायतको उपस्थिति थियो । आँचल साहित्य कला पुञ्जका अध्यक्ष अनिता न्यौपानेले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा झरना साहित्यिक परिवारका उपाध्यक्ष विश्वनाथ सञ्जेलले विमोचित कृतिको समीक्षा गर्नुभएको थियो । समाजका विकृति, विसङ्गति, हत्या, हिंसा र भ्रष्टाचारजस्ता विषयवस्तुमाथि विसङ्गत वर्तमानमा संग्रहित मुक्तकले बेजोड प्रहार गरेको सञ्जेलले बताउनुभयो । विकृतिमाथि प्रहारसँगै त्यसको समाधानका उपायलाई पनि संग्रहित मुक्तकले समेटेकोमा उहाँले लेखक गौतमको प्रशंसा गर्नुभयो । पद्यका रुपमा लेखिँदै आएका मुक्तकलाई अहिले गद्य र स्वतन्त्ररुपमा मुक्तककारहरुले लेख्दै आएको सञ्जेलले चर्चा गर्नुभयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै साहित्यकारहरुले साहित्यको माध्यमबाट कलम चलाएर मकवानपुर जिल्लालाई मात्र नभई सिङ्गो नेपाललाई चिनाउन सफल भएको भन्दै प्रकाशित कृतिका लागि शुभकामना तथा बधाई दिनुभएको थियो । साहित्यमा नयाँ पुस्तालाई समेटेर अघि बढ्नु भएका गौतमले नेपालकै मुक्तकमार्फत् उच्च छवि बनाउन सक्ने क्षमता रहेको कार्यक्रमका अतिथिहरुले बताउनुभयो । कार्यक्रममा मुक्तक संग्रह विसङ्गत वर्तमानका लेखक गौतमले आफ्नो पहिलो कृतिमा कमी मकजोरी रहेको भए आगामी दिनमा सच्याउने बताउनुभयो ।
वि.सं २०४३ सालमा बैकयामा जन्मनु भएका गौतम गजल साहित्यका विशेष रुचि राख्नु हुन्छ । १५ वर्षदेखि हेटौंडाका दुईवटा क्याम्पस तथा एउटा निजी विद्यालयमा शिक्षण गर्दै आउनुभएका गौतमले साहित्यिक संस्थाहरुमा नेतृत्वसमेत गरिरहनु भएको छ । २०५६ सालमा कक्षा ८ पढ्दैगर्दा गजल लेख्न सुरु गर्नुभएका उहाँले २०६८ सालमा गजल मञ्च मकवानपुरमा आवद्व भई मुक्तकको यात्रा अगाडि बढाउनुभएको हो ।
छतिवनको महेन्द्र माविबाट विद्यालय शिक्षा पूरा गर्नुभएका गौतमले मुख्य विषय नेपाली लिई हेटौंडा क्याम्पसबाट उच्च शिक्षा सुरु गर्नुभएको थियो । हेटौंडा क्याम्पसबाटै स्नातकोत्तर उत्तीर्ण गर्नुभएका गौतमले सोही क्याम्पसमा पनि पढाइरहनु भएको छ । गौतमको विसङ्ग वर्तमानमा राजनीतिभित्रका विकृति, अवस्था र समाधानका उपाय दर्शाइएको । देश विकृति अवस्थामा जा“दा एउटा स्वाभिमान नागरिकले गर्नुपर्ने देशप्रतिको कर्तव्यका साथै समाजका विकृति र विसङ्गतिमाथि कलम चलाउन उत्प्रेरित गर्ने काम गौतमको मुक्तकले गर्नेछ ।
कार्यक्रममा कृतिका लेखक गौतमसँगै घनश्याम घिमिरे, शान्ति प्रियबन्दना र राम अविकासबीच गजल सङ्ग्रहको बारेमा बहससमेत गरिएको थियो । साहित्यलाई सञ्चार माध्यममाफृत् उजागर गराउने उद्देश्यले बहस तथा विमर्श गरिएको हो ।