फाइल तस्वीर ।

सुमिना चौलागाई

हेटौँडा : विद्यालय शिक्षामा चालु शैक्षिक सत्रको प्रथम त्रैमासिक परीक्षा सुरु हुँदैछ । चालु शैक्षिक सत्रको पठनपाठन ढिलो सुरु भए पनि अधिकांश स्थानीय तहले असार र साउन महिनामै परीक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । केही स्थानीय तहले भने वर्षे बिदापछि परीक्षा लिने निर्णय गरेका छन् ।

बकैया गाउँपालिकामा प्रथम त्रैमासिक परीक्षा विद्यालयले आन्तरिक रूपमा सञ्चालन गर्नेछन् । शिक्षा शाखा प्रमुख आइतराम तामाङका अनुसार पालिकाले यस वर्ष शैक्षिक क्यालेन्डर तयार गरे पनि संघीय सरकारको सार्वजनिक बिदासम्बन्धी व्यवस्थामा भएको परिवर्तन तथा वर्षे बिदा कटौतिका कारण क्यालेन्डर वितरण गर्न सकिएको छैन । गत वर्ष पनि आन्तरिक परीक्षा सञ्चालनको जिम्मेवारी विद्यालयलाई नै दिइएको थियो । पालिकाभित्र ७६ सामुदायिक र ४ संस्थागत विद्यालयमा ९ हजार २५८ जना विद्यार्थी अध्ययनरत छन् । राक्सिराङ गाउँपालिकामा साउन १ देखि ९ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । शिक्षा शाखा प्रमुख पंकस थारुका अनुसार परीक्षा पालिकाको शैक्षिक क्यालेन्डरअनुसार सञ्चालन हुनेछ । पालिकाका ५० सामुदायिक विद्यालयमा ५ हजार ९२२ जना विद्यार्थी अध्ययनरत छन् ।

इन्द्रसरोवर गाउँपालिकामा पनि साउन १ देखि ९ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तले परीक्षा शैक्षिक क्यालेन्डरअनुसार सञ्चालन गरिने जानकारी दिनुभयो । पालिकाका १९ विद्यालयमा २ हजार ११८ जना विद्यार्थी अध्ययनरत छन् । थाहा नगरपालिकामा असार ३० देखि साउन ७ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । शिक्षा शाखा प्रमुख माधवविक्रम मल्लका अनुसार पालिकाको शैक्षिक क्यालेन्डरअनुसार परीक्षा सञ्चालन हुनेछ । नगरपालिकाभित्र ५२ सामुदायिक र ११ संस्थागत विद्यालयमा करिब ८ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

कैलाश गाउँपालिकामा असार २८ देखि साउन ३ गतेसम्म कक्षा ४ देखि १० सम्मको प्रथम त्रैमासिक परीक्षा सञ्चालन हुनेछ । पालिकाले परीक्षा तालिका सार्वजनिक गरिसकेको छ । पालिकाका ४३ सामुदायिक विद्यालयमा ४ हजार ६२८ जना विद्यार्थी अध्ययनरत छन् । बागमती गाउँपालिकाले साउन १ देखि १५ गतेसम्म वर्षे बिदा दिएपछि भदौ ९ देखि १८ गतेसम्म प्रथम त्रैमासिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । मकवानपुरगढी गाउँपालिकामा साउन ७ देखि १५ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । शिक्षा शाखा प्रमुख रामबहादुर घलानका अनुसार परीक्षा शैक्षिक क्यालेन्डरअनुसार सञ्चालन हुनेछ । साउन १८ देखि २९ गतेसम्म वर्षे बिदा रहनेछ । पालिकाका ३५ विद्यालयमा ४ हजार ८९५ जना विद्यार्थी अध्ययनरत छन् ।

हेटौँडा उपमहानगरपालिकाले विद्यालयलाई आफ्नो अनुकूल समय मिलाएर प्रथम त्रैमासिक परीक्षा सञ्चालन गर्न अधिकार दिएको छ । शिक्षा अधिकृत रमेश बिडारीका अनुसार उपमहानगरपालिकाभित्र ७० सामुदायिक र ४८ संस्थागत विद्यालयमा ५४ हजार विद्यार्थी अध्ययनरत छन् । भीमफेदी गाउँपालिकामा साउन ४ देखि १२ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।

शिक्षा अधिकृत चक्र साउदका अनुसार परीक्षा सम्पन्न भएपछि साउन १३ देखि ३२ गतेसम्म वर्षे बिदा रहनेछ । पालिकाका ४४ सामुदायिक र १ संस्थागत विद्यालयमा ३ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । मनहरी गाउँपालिकामा असार २९ देखि साउन ५ गतेसम्म प्रथम त्रैमासिक परीक्षा सञ्चालन हुनेछ ।

यस वर्ष अधिकांश स्थानीय तहले शैक्षिक क्यालेन्डरअनुसार परीक्षा सञ्चालन गर्न लागेका छन् । केही स्थानीय तहले विद्यालयलाई आन्तरिक रूपमा परीक्षा सञ्चालन गर्ने जिम्मेवारी दिएका छन् भने केहीले पालिकास्तरमै समयतालिका निर्धारण गरी परीक्षा सञ्चालन गर्ने तयारी गरेका छन् ।