हेटौंडाः बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले समाजको समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हेटौंडा–९ स्थित मानवसेवा आश्रमहरुमा फलफूल र खाद्यान्न सामग्री वितरण गर्ने कार्यक्रममा शुक्रबार मन्त्री लामाले सहकारीहरु आफूमा मात्रै सीमित नभई सामाजिक सेवाको क्षेत्रमा समेत सहभागी भएकोमा खुसी व्यक्त गर्नुभयो ।
६४ औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेशस्तरीय मुल समारोह समिति २०७७ को आयोजनामा शुक्रबार हेटौंडामा रहेका तीन वटा आश्रममा फलफुल तथा १ दिनलाई पुग्ने खाद्यान्न खरिदका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । खाद्यान्न खरिदका लागि मानवसेवा आश्रम, मामाघर नेपाल र राजदेबि असहाय आश्रमलाई सहयोग गरिएको हो । कार्यक्रममा सहकारी दिवस बागमती प्रदेश मुल समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटा, बागमती प्रदेशको सहकारी रजिष्ट्रार विक्रम प्रसाद पाण्डे, बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीका बल्लभ सापकोटा, मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्री प्रसाद लम्साल, हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण भण्डारी, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी दिवसका अवसरमा देशकै उत्कृष्ट सहकारी व्यवस्थापकको रुपमा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी व्यवस्थापक सुमित्रा कुमारी वाईबालाई सम्मान समेत गरिएको थियो ।