हेटौंडाः बागमती प्रदेशसभाको बैठक यही चैत २४ गते दिनको एक बजे पुनः बस्ने भएको छ । यसअघि पटकपटक स्थगित हुँदै आएको प्रदेशसभाको सातौं अधिवेशनअन्तर्गत्को बैठक बस्ने मिति तोकिएको हो । प्रदेशसभा सचिवालयका अनुसार गत माघ ७ गतेदेखि सुरु भएको सातौं अधिवेशनमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्तावमाथि माघ ९ गते छलफल गरी स्थगन गरिएको थियो ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सदन बोलाएको जानकारी दिनुभयो । उहाँले पहिलो दिन मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वास प्रस्ताव सम्बन्धित पक्षले फिर्ता लिएको विषयमा जानकारी दिने तथा सार्वजनिक सडक र सरोकारसँग सम्बन्धित विधेयक २०७७ र प्रदेश पर्यटन विधेयक २०७७ माथि छलफल प्रारम्भ हुने बताउनुभयो ।
मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावक अरुणकुमार नेपालसहित समर्थक भएका सदस्यले चैत १७ गते अविश्वासको प्रस्ताव फिर्ता लिने भन्ने निर्णय भएअनुसार बागमती प्रदेशसभा सचिवालयमा १८ गते अपराह्न प्रस्ताव फिर्ता लिएको सूचना दर्ता गरिएको थियो । प्रदेशसभामा तत्कालीन सत्तारुढ दल नेकपाको ८० सदस्य रहे पनि सर्वोच्च अदालतको फैसलाअनुरुप सत्तारुढ नेकपा दुई दलमा विभाजित भएपछि प्रदेशसभाको समीकरण परिवर्तन भएको छ ।
हाल प्रदेशसभामा नेकपा एमालेका ५७, प्रमुख प्रतिपक्ष दलका रुपमा नेकपा माओवादी केन्द्रका २३ जना र नेपाली कांग्रेसका २२ जना सदस्य रहेका छन् । विगतमा प्रमुख प्रतिपक्षी रहेको कांग्रेस अहिले तेस्रो ठूलो दलका रुपमा देखिएको छ । यसैगरी विवेकशील साझा दलको ३, नेपाल मजदुर किसान पार्टीको २, राप्रपाको २ र एक स्वतन्त्र सांसद गरी कूल ११० जना प्रदेशसभा सदस्य छन् ।