Home मुख्य समाचार बजेट कार्यान्वयनमा कमजोर बन्दै बागमती प्रदेश सरकार, बजेट बढ्यो, खर्च बढेन

बजेट कार्यान्वयनमा कमजोर बन्दै बागमती प्रदेश सरकार, बजेट बढ्यो, खर्च बढेन

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालय ।

हेटौंडाः बागमती प्रदेश सरकारले एक आर्थिक वर्षका लागि छुट्याएको बजेट पूरा खर्च गर्न सकेको छैन । प्रदेश सरकारले हालसम्म चारपटक बजेट ल्याएपनि पूरा बजेट खर्च भने गर्न नसकेको तथ्यांकले देखाएको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को फागनु मसान्तसम्म २५ दशमलब ३५ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । चालु वर्षमा ५१ अर्ब ४२ करोड ७४ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले ८ महिनामा १३ अर्ब ३ करोड ५१ लाख रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । यद्यपि अबको ४ महिनामा ‘असारे विकास’को शैलीमा बजेट खर्च हुने अनुमान गरिएको छ ।

बागमती प्रदेशको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत राजेन्द्र पाण्डेका अनुसार बागमती प्रदेशले आर्थिक वर्ष २०७४/७५ मा कुल बजेटको २६.४१ प्रतिशत बजेट खर्च गरेको थियो । १ अर्ब २ करोडको बजेट ल्याएको बागमती प्रदेश सरकारले २६ करोड ९४ लाखमात्रै खर्च गरेको थियो ।

यसैगरी आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारको खर्च केही बढेको देखिन्छ । उक्त आर्थिक वर्षमा प्रदेश सरकारले ६० प्रतिशत बजेट खर्च भएको लेखा अधिकृत पाण्डेले बताउनुभयो । आर्थिक वर्ष २०७६/७७ को कुल बजेट ४७ अर्ब ३० करोड रुपैयाँमध्ये ५९.०८ प्रतिशतमात्र खर्च गरेको थियो । बागमती प्रदेश सरकारले बितेको तीन वर्षमा कुल ८२ अर्ब ३५ करोड ४५ लाखको बजेट ल्याएपनि पूरा बजेट भने खर्च गर्न सकेको छैन । आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७६/७७ सम्म बागमती प्रदेश सरकारले कुल बजेटको ५९.३४ प्रतिशतमात्रै खर्च गरेको छ ।

मुख्यमन्त्री कार्यालयको खर्च ८.६५ प्रतिशत
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयले चालु वर्षको फागुन मसान्तसम्म ८.६५ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । मन्त्रालयको कुल बजेट ८६ करोड ६० लाख मध्ये ७ करोड ४८ लाख खर्च भएको हो । यस्तै उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले ८ महिनाको अवधिमा १९.९४ प्रतिशत बजेट खर्च गरेको छ । कुल बजेट ३ अर्ब ९३ करोडमध्ये ७८ करोड ४४ लाख खर्च भएको हो । सामाजिक विकास मन्त्रालयले भने २९.६ प्रतिशत बजेट खर्च गरेको छ । कुल बजेट ६ अर्ब ५९ करोडमध्ये १ अर्ब ९१ करोड खर्च गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि १९.९ प्रतिशतमात्र बजेट खर्च गरेको छ । मन्त्रालयको चालु आर्थिक वर्षको बजेट ८८ करोड मध्ये १७ करोड ५१ लाख खर्च भएको छ ।

बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले यी तीनवटै मन्त्रालय आफू मातहतमा राख्नुभएको छ । प्रदेशको सामाजिक विकास मन्त्री, कानुन मन्त्री र पर्यटन मन्त्रीले राजीनामा दिएसँगै मुख्यमन्त्री पौडेलले अहिले ४ वटा मन्त्रालाय सम्हाल्दै आउनुभएको छ ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्षको ८ महिनामा १९.८७ प्रतिशत र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १८.३९ प्रतिशतमात्रै बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालय हेटौंडाले जनाएको छ ।

Exit mobile version