हेटौंडाः राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा प्रदेश जिल्ला प्रशिक्षक प्रशिक्षण तालिम हेटौंडामा सुरु भएको छ । जनगणनामा खटिने सुपरीवेक्षक तथा गणकहरुलाई तालिम प्रदान गर्ने प्रशिक्षक तयार गर्ने उद्देश्यले केन्द्रीय तथ्यांक विभागको आयोजनामा सात दिवसीय प्रशिक्षक प्रशिक्षण तालिम सोमबारबाट सुरु भएको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालले सक्षमताका साथ तथ्यांक संकलन गर्न आग्रह गर्नुभयो । बसाइँसराईं दर, आर्थिक हैसियत, जनसंख्या वृद्धिदरजस्ता तथ्यांकको सहयोगबाट मात्र राज्यको नीति निर्माण र योजना तर्जुमा गर्न सहयोग पुग्ने बताउँदै प्रमुख जिल्ला अधिकारी रिजालले जनगणनाको तथ्यांकलाई बहुप्रयोगयोग्य बनाउन सहयोग पुग्ने गरी सही तरिकाले तथ्यांक संकलन गर्न जिम्मेवार हुन आग्रह गर्नुभयो ।
केन्द्रीय तथ्यांक विभागका निर्देशक लीला मिश्रको सभाध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा प्रदेश जनगणना अधिकारी राजेश दासले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले तालिमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।
तालिममा मकवानपुर, धादिङ र चितवन जिल्लाका ८० जनाको सहभागिता रहेको छ । जेठ १५ गतेसम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षण तालिमपश्चात् वैशाख १६ देखि २२ गतेसम्म जिल्लास्तरीय सुपरीवेक्षक तालिम हुनेछ । यस्तै, जेठ १७ गतेदेखि २२ गतेसम्म स्थानीयस्तरमा गणक तालिम सम्पन्न भएपछि जेठ २५ गतेबाट देशव्यापी जनगणनाको तथ्यांक संकलन सुरु हुने बताइएको छ ।
जेठ २५ गतेदेखि असार ७ गतेसम्म १५ दिन गणकहरु प्रत्येक घरमा पुगी जनगणनाको तथ्यांक संकलन गर्ने र असार ८ गते जनगणना दिवसको दिन स्थायी बसोबास नभएका, थर–ठेगाना नभएकाको पनि जो जहाँ छन्, त्यही“ गणना गरिने बताइएको छ । जनगणनालाई व्यवस्थित बनाउन ७ सय ५३ स्थानीय तहलाई समेटेर ३ सय ४९ वटा स्थानीय जनगणना कार्यालय स्थापना गरिने बताइएको छ । मकवानपुर जिल्लामा ७ वटा जनगणना कार्यालय रहनेछन् । जिल्ला तथ्यांक कार्यालय हेटौंडा ११, हेटौंडा–१६ हटिया, बकैया, मनहरी, राक्सिराङ, पालुङ र भीमफेदीमा जनगणना कार्यालय स्थापना गरिनेछ ।