हेटौंडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मकवानपुरको १६ औं वार्षिक साधारणसभा तथा हेटौंडा उपमहानगर समितिको तेस्रो वार्षिक साधारणसभा शनिबार भएको छ । हेटौंडा–२ स्थित धार्मिक एवम् पर्यटकीयस्थल वनस्खण्डीदेवी मन्दिर परिसरमा प्याव्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदीको अध्यक्षता तथा प्याव्सन केन्द्रीय समितिकी सहकोषाध्यक्ष ग्रेस श्रेष्ठको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

साधारणसभाको उद्घाटन कार्यक्रममा प्याव्सन केन्द्रीय सदस्य मदन कुमार दाहाल, बागमती प्रदेशअन्तर्गत शिक्षा विकास निर्देशनालयका देवनारायण चौधरी, हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाकी अधिकृत सरस्वती कोइराला, रामचन्द्र खड्काको पनि उपस्थिति रहेको थियो । साधारणसभामा प्याव्सन मकवानपुरका सचिव नवीन केसीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभामा संस्थागत विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने, संस्कारयुक्त शिक्षा, प्रविधिमैत्री एवम् व्यवहारिक शिक्षामा जोड दिनुपर्ने विषयमा छलफल भएको कार्यवाहक अध्यक्ष विनोद सुवेदीले बताउनुभएको छ । प्याव्सन मकवानपुरमा ५९ विद्यालय आवद्ध छन् ।