हेटौंडा अस्पतालमा कार्यरत दुईजना चिकित्सकहरुलाई अस्पतालले हालै बर्खास्त गरेको छ । जनरल सर्जन डा. साजिद अन्सारी र छाला तथा यौनरोग विशेषज्ञ डा. बुद्धिराज पाण्डेलाई बर्खास्त गरेको हो । विगत ३ वर्षदेखि डा. अन्सारी र २ वर्षदेखि डा. पाण्डे हेटौंडा अस्पतालको करार सेवामा कार्यरत थिए । अस्पतालको नियमविपरीत कार्य गरेको भन्दै अस्पताल विकास समितिले उनीहरुलाई बर्खास्त गरेको जनाएको छ । अस्पतालको ड्यूटी समयमा निजी क्लिनिकमा गएर काम गर्ने तथा हेटौंडा अस्पतालका बिरामीलाई आफ्नै निजी क्लिनिकमा बोलाउने कार्य गर्दै आएका उनीहरुलाई अस्पताल विकास समितिले पटकपटक स्पष्टिकरण सोधेको थियो । उनीहरुलाई २ पटकसम्म अस्पतालले निलम्बन पनि गरेको थियो ।
अस्पताल प्रशासनको यो कारबाही यतिबेला प्रशंसाको विषय बनेको छ । नियमविपरीत काम गर्ने तथा नागरिकको सेवालाई आफ्नो आम्दानीको स्रोत बनाउने गलत मनसाय भएका यस्ता व्यक्तिहरु कारबाहीको भागिदार हुनै पर्दछ । यस्तै प्रवृत्तिले हेटौंडा अस्पतालको विश्वसनीयता कमजोर बनेको हो । पछिल्लो घटनाले नागरिकमा विश्वास बढ्ने देखिन्छ भने त्यहाँ काम गर्ने अन्य चिकित्सकहरुलाई सजग र इमान्दार बन्न सचेत पनि गराएको छ । अस्पतालमा कार्यरत डाक्टरका विषयमा विगत धेरे वर्षदेखि गुनासो नआएको हैन । तर अस्पताल नेतृत्वले कारवाही गर्ने आँट गरेको थिएन । कतिपय अवस्थामा आम नागरिकले समेत कानुन हातमा लिएर डाक्टरमाथि अभद्र व्यवहार पनि भए । यी र यस्तै घटनाबाट हेटौंडा अस्पताल रिफर सेन्टरका रुपमा मात्र रहँदै आएको यथार्थ हो ।
विज्ञता छ भन्दैमा मनलाग्दी गर्ने छुट कसैले पनि पाउनु हुँदैन । दिएको जिम्मेवारी निर्वाह गरेर त्यसपछिको समय अन्य मेडिकलमा काम गर्नु स्वभाविक हो । देशभरको प्रचलन नै यही छ । तर हेटौंडामा कार्यरत डाक्टरहरुले भने अस्पतालका बिरामीलाई पर्खाएरै निजी क्लिनिक धाउने गरेका छन् । यस्तै बीमा सुविधामा पाइने भन्दा फरक औषधि लेखिदिने र आफ्नो मेडिकलमा गएर खरिद गर्नसमेत सुझाव दिने डाक्टरहरुको पेसा नै बनेको छ । बीमामा नपर्ने यस्तै परीक्षणका लागि पनि निजी क्लिनिकमा बोलाउने घटना सामान्य नै हो । यही बेथितिकै कारण हेटौंडा अस्पतालप्रति आमधारणा अझै सकारात्मक बन्न सकेको छैन । सामान्य उपचारसमेत नगर्ने र अन्यत्रै पठाउने पद्दति यहाँका डाक्टरमा छ ।
अस्पतालमा बढ्दै गएको विकृति तथा हेलचेक्र्याईँविरुद्ध कडा कदम नचाल्दा लामो समयदेखि अस्पतालको विश्वसनीयता गुम्दै गइरहेको अवस्थामा पछिल्लो निर्णय सुधारका लागि सकारात्मक कदम मान्न सकिन्छ । तर कारवाहीसँगै उक्त सेवाको विशेषज्ञ डाक्टरको अभाव सुरु भएको छ । यस कुरालाई अपस्पताल नेतृत्वले सम्बोधन गर्न ढिला गर्नु हुँदैन । सुविधा न्यायोचित दिने तर सेवामा कमजोरी हुन नदिने नीति बनाउन सक्नु पर्दछ । हेटौंडाका निजी अस्पतालहरुमा समेत पर्याप्त विशेषज्ञ डाक्टरहरुको अभाव भइरहेको अवस्थामा सरकारी अस्पतालले समेत सो सेवा दिन नसक्दा समस्या हुन सक्छ । यसतर्फ सम्बन्धित निकायहरुबाट गम्भीरतापूर्वक ध्यान पुर्याउनु पर्दछ भने स्वास्थ्य सेवालाई व्यावसायिक कम र मानवीय सेवा भाव बढी बनाउने वातावरण निर्माण गर्नुपर्ने छ ।