रक्तदान गर्दै रक्तदाताहरु ।

हेटौंडाः रोट्रयाक्ट क्लब अफ हेटौंडाले शनिबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । हेटौंडाको बुद्धचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौंडामा रगतको अभाव भएको समयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

रोट्र्याक्ट क्लबले वार्षिक कार्यक्रमको रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको क्लबका अध्यक्ष उदीप आचार्यले जानकारी दिनुभयो । क्लबको सामुदायिक सेवा निर्देशक कविता पौडेलले रक्तदान कार्यक्रममा रोट्र्याक्ट क्लबका पदाधिकारी र सर्वसाधारणको सहभागिता रहेको जानकारी दिनुभयो ।

रक्तसञ्चार केन्द्रमा ए पोजेटिभ रगतको अभाव रहेको तथा अन्य समूहका रगत पर्याप्त रहेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले जानकारी दिनुभएको छ । यसैबीच सोमबार चुरेहिल हस्पिटलले पनि रक्तदान कार्यक्रमको आयोजना गर्दैछ ।