हेटौंडाः बालविवाहबारे समाज सचेत बन्दै गए पनि बालबालिकाबीच आफूखुशी विवाह गर्ने क्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ । अभिभावकको अग्रसरतामा हुने बालविवाह कम हुँदै जाँदा बालबालिकाकै मञ्जुरीमा हुने विवाह बढ्दै गएकोमा सरोकारवाला तथा अधिकारकर्मीहरुको चिन्ता र चासो बढेको हो ।
ग्रामीण महिला सेवा केन्द्र हेटौंडाले मनहरी गाउँपालिकामा सञ्चालन गरिरहेको परिवर्तनका लागि संवाहक परियोजनाको अनुगमनका क्रममा कार्यक्रमसँग सम्बद्ध पक्षहरुले बालबालिका स्वयम् बालविवाहतर्फ आकर्षित हुँदा समस्या बढेको बताएका छन् । बालबालिकाकै मञ्जुरीमा हुने बालविवाह रोक्न समस्या हुने गरेको मनहरी गाउँपालिकाका कानुनी सहजकर्ता रेखा थापाले बताउनुभयो । बालबालिकाको मस्तिष्कले सोच्न सक्ने भए पनि उनीहरुले सही गलत छुट्याउन नसक्दा समस्या बढेको थापाले बताउनुभयो । बालबालिकाकै मञ्जुरी रहेको बालविवाह रोक्न खोज्दा बालबालिकाले आत्महत्याको प्रयाससमेत गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
केन्द्रको आयोजनामा मनहरी गाउँपालिकाको हाँडीखोलास्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा सञ्चालित परियोजनाको अनुगमनका क्रममा केन्द्रका संयोजक दीपक न्यौपानेले समाजमा रहेका कुरिति, कुसंस्कृति तथा नकारात्मक सोचका सामाजिक समस्या बढाएको बताउनुभयो । बलात्कार, अपहेलनाजस्ता समस्या बढिरहेको अवस्थामा लैंगिक समता कायम गर्न संघसंस्थाको सहकार्यले मात्र सम्भव नहुने भएकाले सबैको सहयोग र समन्वय कायम गर्न कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
मन्दिरा ढकालले सहजीकरण गरिरहनु भएको परिवर्तनका लागि संवाहक कार्यक्रमको अनुमगनका क्रममा हाँडीखोला युवा सञ्जालले कचहरी नाटकसमेत प्रस्तुत गरेको थियो । नाटकमार्फत् युवा विद्यार्थीहरुले छोराछोरीबीच भेदभाव, किशोरीमाथि समाजले हेर्ने दृष्टिकोण, गरिबमाथि गरिने भेदभाव र बालविवाहविरुद्धका सन्देशहरु रहेका थिए । नाटकमार्फत् यौन हिंसा, लैंगिक हिंसा र बाल हिंसाको बारेमा सचेतना प्रदान गरिएको थियो ।
अनुगमनको क्रममा मनहरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु थिङले विद्यार्थीहरु लागूपदार्थको दुव्र्यसनमा संलग्न हुने क्रम बढेकाले नाटकलगायत कार्यक्रममा लागूपदार्थविरुद्धका सन्देशहरु पनि समावेश गर्न सुझाव दिनुभयो । अनावश्यक मोबाइल चलाउने गरेका कारण विद्यार्थीको पढाइ बिग्रँदै गएको भन्दै वडा अध्यक्ष थिङले मोबाइलको सदुपयोग गर्ने उपायमा पनि जोड दिनु आग्रह गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक गोकुल पराजुलीले युवायुवतीहरु कुलतमा फसेको अवस्थालाई पनि नाटकको माध्यमबाट उजागर गर्नसके कार्यक्रम थप प्रभावकारी बन्ने बताउनुभयो । विद्यार्थीहरुले राम्रो नाटक प्रस्तुत गरेकोमा खुशी हुँदै प्रधानाध्यापक पराजुलीले असल कलाकारमा हुनुपर्ने गुणहरु विद्यार्थीमा देखिएको बताउनुभयो ।
केन्द्रका अध्यक्ष उर्मिला कार्कीले नाटकमा जस्तै समाजमा हुने बालविवाहविरुद्ध पनि अवाज उठाउन आग्रह गर्नुभयो । कार्यक्रममा सामाजिक परिचालक निता लुईंटेल,योजना अनुगमण तथा मूल्याङ्कन संयोजक राजन पौडेल, सुपरभाइजर रोजिता दंगाल, कार्यक्रम परिचालक प्रसुना राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन अर्याल, शिक्षक सुकृतन ओझा, महिला विकास निरीक्षक शान्ति अधिकारीलगायत विद्यार्थीहरुको उपस्थिति थियो ।