वागमती प्रदेश अन्तर्गत १० जिल्लाको नेपाल पत्रकार महासंघ शाखाको समन्वयमा प्रकाशन भएको ‘महासंघमा हामी’ पुस्तकको विमोचन गरिँदै ।

हेटौंडाः नेपाल पत्रकार महासंघ वागमती प्रदेश अन्तर्गत रहेका १० जिल्लाको समन्वयमा प्रकाशन भएको महासंघमा हामी पुस्तक बुधबार एक कार्यक्रमका बीच काभ्रेको धुलिखेलमा विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका अध्यक्ष गोविन्द आचार्य, धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्यञ्जु, महासंघका महासचिब रमेश विष्ट लगायतले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्नुहुँदै केन्द्रीय अध्यक्ष आचार्यले वागमती प्रदेशका १० जिल्लाको संयुक्त कार्य अरु प्रदेशका लागि पनि उदाहरणीय भएको बताउनुभयो । उहाँले केन्द्रीय समितिले वागमती प्रदेशका जिल्लाबाट बढी फाइदा लिएको र यहाँका जिल्लाहरू जुनसुकै अवस्थामा पनि केन्द्रीय समितिलाई सहयोग गर्न तत्पर रहने गरेकाले आफ्नो कार्यकालमा ठुलो गुण लगाएको बताउनुभयो ।

धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्यञ्जुले नगर प्रमुख हुनु भन्दा अगाडि आफु पनि पत्रकार महासंघको सदस्य भई सञ्चार माध्यम पनि चलाएको भन्दै पत्रकारुको पीडा आफुले बुझेकाले मिडिया लाइव्रेरी बनाउन काभ्रे शाखालाई रकम विनियोजन पनि गरेको बताउनुभयो । उहाँले यस्ता खाले रचनात्मक क्रियाकलापले इतिहास कायम राख्न सहज हुने बताउनुभयो । महासंघका महासचिव रमेश विष्टले कुनै पनि प्रदेशले हालसम्म गर्न नगसकेको काम वागमती प्रदेशका १० जिल्लाहरुले गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले पुस्तक प्रकाशनको कार्यले महासंघको गरिमालाई अझै उचाइमा लैजान मद्दत पुगेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बालकृष्ण बस्नेत, वर्तमान केन्द्रीय सदस्य कृष्ण गिरी, द्वारिका काफ्ले, प्रदेश उपाध्यक्ष यदुनाथ गौतम लगायतले पुस्तक प्रकाशन गर्ने कार्यको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले छोटो समयमा पुस्तक प्रकाशनको काम गरेको बताउनु भयो ।

यसअघि माघ ३० गते मकवानपुरमा बसेको १० जिल्लाका अध्यक्षहरुको बैठकले चैत्र महिनाको पहिलो हप्ता भित्र पत्रकार महासंघको १० जिल्लाको प्रोफाइल प्रकाशन गरी पत्रकार महासंघ केन्द्रीय अध्यक्ष र महासचिव मार्फत विमोचन गराउने र त्यसको संयोजनको जिम्मेवारी काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, रामेछापका अध्यक्ष रमेश ढुंगेल र चितवनका अध्यक्ष राधेश्याम खतिवडालाई दिने निर्णय गरको थियो ।

जिल्लाको पत्रकारिताको अवस्था र इतिहास लगायत अन्य विषय वस्तु समेटिएको पुस्तकमा विज्ञापन राखिएको छैन । १४४ पृष्ठको पुस्तक प्रकाशनका लागि वागमती प्रदेश अन्तर्गतका चितवन, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्ला शाखाहरुले आवश्यक आर्थिक व्यवस्थापन गरेका थिए ।