फाइल तस्बिर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयहरुमा एसईई पूर्वतयारी परीक्षा बैशाख ५ गतेबाट सञ्चालन गरिने भएको छ । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडासँग आवद्ध विद्यालयहरुमा बैशाख ५ गतदेखि १३ गतेसम्म एसईई पूर्वतयारी परीक्षा सञ्चालन गरिने भएको हो ।

शैक्षिक समन्वय समितिले नगर क्षेत्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग दुई साताअघि गरेको बैठकले गरेको निर्णयअनुसार समितिले एसईई पूर्वतयारी परीक्षाको तालिका सार्वजनिक गरेको छ । बैशाख ५ गते अनिवार्य अँग्रेजी, ६ गते अनिवार्य नेपाली, ७ गते अनिवार्य स्वास्थ्य जनसङ्ख्या तथा वातावरण, ८ गते विज्ञान, ९ गते सामाजिक, १० गते ऐच्छिक प्रथम, १२ गते गणित र १३ गते ऐच्छिक द्वितीय विषयका परीक्षा सञ्चालन हुने नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाका अध्यक्ष सागर खतिवडाले जानकारी दिनुभयो ।

यस वर्षको दोस्रो त्रैमासिक परीक्षा भने सम्बन्धित विद्यालयहरुले आफ्नो अनुकूलतामा चैत दोस्रो हप्तामा सञ्चालन गर्न समितिले आग्रह गरेको छ । विगतका वर्षहरुमा समितिमा आवद्ध नगर क्षेत्रका सामुदायिक विद्यालयहरुमा एउटै प्रश्नपत्रबाट एकै समयमा सबै परीक्षा सञ्चालन गर्ने गरिएकोमा यसवर्ष कोभिड–१९ का कारण पठनपाठनमा एकरुपता नभएपछि त्रैमासिक परीक्षाहरु विद्यालयले नै सञ्चालन गरिरहेका छन् । कक्षा ८ र १० बाहेकका बार्षिक परीक्षा भने समितिमार्फत् सञ्चालनको तयारी भइरहेको अध्यक्ष खतिवडाले बताउनुभयो ।

यस वर्षको एसईई परीक्षा जेठ १३ गतेदेखि सञ्चालन गरिने भएको छ । यस्तै, कक्षा १२ को परीक्षा पनि जेठ २६ गतेबाट सञ्चालन गर्नेगरी परीक्षा कार्यक्रम सार्वजनिक भइसकेको छ । कक्षा ११ को परीक्षा सञ्चालनको जिम्मेवारी भने यस वर्षबाट सम्बन्धित शिक्षण संस्थालाई दिइएको हुँदा विद्यालय तथा क्याम्पसहरुले नै आफ्नो सुविधाअनुसार सञ्चालन गर्नेछन् । आगामी शैक्षिक सत्रदेखि कक्षा ८, १० र १२ का बाहेक अन्य कक्षाका सबै परीक्षा एकरुपता हुनेगरी समन्वय समितिमार्फत् सञ्चालन हुने समिति अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।