हेटौंडाः शिक्षाका लागि साईकल यात्रामा निस्कनु भएका देवेन्द्र बस्न्यातलाई हेटौंडामा स्वागत गरिएको छ । सोमबार साँझ हेटौंडा आइपुग्नु भएका बस्न्यातलाई मकवानपुरको भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको संगमस्थल सामरीमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानू लामा, मकवानपुर उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य नरेन्द्र भण्डारी, मकवानपुर साईकल संघका अध्यक्ष संगीत श्रेष्ठले स्वागत गरेका हुन् ।
बस्न्यातको स्वागतमा मकवानपुरका साईकल अभियन्ताहरुको पनि सहभागिता रहेको थियो । दोलखाको राजकुलेश्वर विद्यालयलाई सहयोग गर्न तथा डडेलधुरामा पुस्तकालय पुनस्र्थापना गर्न साईकलयात्री देवेन्द्र बस्न्यात दोलखादेखि–डोटिसम्म साइकल यात्रामा निस्कनु भएको हो । बस्न्यात एक्लै साईकलयात्रामा निस्कनुभएको छ । मंगलबार बिहान हेटौंडाबाट बस्न्यातलाई नारायणगढतर्फ विदाई गरिनेछ ।
बस्न्यातले दोलखादेखि डोटीसम्मको यात्रा तय गर्दा एक हजार दुई सय किलोमिटर दूरी पार गर्नुहुनेछ । मकवानपुर साईकल संघको समन्वयमा संकलित रकम हस्तान्तरण गर्दै आज मंगलबार बिहान साईकलयात्री बस्न्यातलाई विदाई गरिने छ ।