हेटौंडाः भूमिहीनहरुको लगत संकलन गर्दा अव्यवस्थित बसोवास गर्नेहरुको पहिचानमा समस्या भएको मकवानपुरका स्थानीय तहका प्रमुखहरुले बताएका छन् । भूमि सम्बन्धी समस्या समाधान आयोग मकवानपुर र जिल्लाका दश स्थानीय तहबीच आइतबार भएको छलफलमा स्थानीय तहका प्रमखुहरुले पालिका स्तरमै अभिमूकिरणको आवश्यक्ता भएको बताए । आयोगले आफ्नो उद्देश्य र स्थानीय तहको भुमिकाबारे स्थानीय तहका प्रमुखहरुसँग छलफल गरेको थियो । छलफलमा स्थानीय तहका प्रमुखहरुले भूमिसम्बन्धी गरिएको कामबारे जानकारी गराएका थिए ।
मकवानपुरको दश स्थानीय तह मध्ये पाँच स्थानीय तहमा भूमिहीनहरुको लगत संकलन लगायतको काम सुरु भईसकेको छ । तीन स्थानीय तहमा बाँकी छ भने दुई स्थानीय तहसँग सम्झौता भएको छैन ।
छलफलमा आयोगका जिल्ला अध्यक्ष रामेश्वर रानाले जस्तो सुकै समस्या आए पनि भूमि सम्बन्धी समस्या समाधान गर्नुपर्ने बताए । उनले आयोगले र स्थानीय तहले गर्नुपर्ने काम तथा आयोगको योजना तथा नीतिका बारेमा समेत प्रष्ट पारे ।
हेटौंडामा भएको छलफलमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामा, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिद्म लामा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिकाका अध्यक्ष टंक बहादुर मोक्तान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, आयोगका सदस्यहरु तुलसी रिजाल, प्रतिमा श्रेष्ठ लगायतको उपस्थिति थियो ।