हेटौंडाः मकवानपुरको विकट स्थान राक्सिराङ गाउँपालिका–४ की ठूलीमाया प्रजाले ८० वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेकी छिन् ।
वि.सं १९९७ सालमा राक्सिराङमा जन्मिएकी उनले आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नेपाली नागरिकता प्राप्त गरेकी हुन् ।
उनी बाहेक श्रीमान, छोराहरुको नागरिकता रहेको छ । श्रीमान्को मृत्यु भइसकेको कारण छोराले सनाखत गरेपछि नागरिकता दिइएकोे जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गत्र्तौलाले बताए । समाजिक सुरक्षा भत्ता आउने कुरा जानकारीमा आएपछि उनले नागरिकता बनाएकी हुन् ।
उनीजस्तै नागरिकता नभएकाहरुलाई राक्सिराङ गाउँपालिकाले नै सहजीकरण गरेर नागरिकता बनाउन सहयोग गरिरहेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । यसअघि राक्सिराङका जनप्रतिनिधिहरुको सहजीकरणमा ७३ जनाले एकैदिन जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता लिएका थिए ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले यसअघि विकट स्थानहरुमा घुम्ती शिविरको आयोजना गरेर नागरिकता नबनाएकाहरुलाई नागरिकता प्रदान गर्दै आएको थियो । गृह मन्त्रालयले घुम्ती शिविर आयोजना गरेर नागरिकता नबाड्न निर्देशन दिएसँगै जिल्लामा नागरिकता शिविर आयोजन हुन नसकेको प्रमुख प्रशासकिय अधिकृत गत्तौलाले जानकारी दिए ।