हेटौंडा अस्पातल ।

हेटौंडाः हेटौंडा अस्पतालमा कार्यरत दुई जना चिकित्सहरुलाई अस्पतालले आइतबारबाट लागूहुने गरी बर्खास्त गरेको छ । अस्पतालमा कार्यरत जनरल सर्जन विशेषज्ञ डा. साजिद अन्सारी र छाला तथा यौनरोग विशेषज्ञ डा. बुद्धिराज पाण्डेलाई बर्खास्त गरेको हो । विगत ३ वर्षदेखि डा. साजिद अन्सारी र २ वर्षदेखि डा. पाण्डे हेटौंडा अस्पतालको करार सेवामा कार्यरत थिए ।

अस्पतालको नियमविपरीत कार्य गरेको भन्दै अस्पताल विकास समितिले उनीहरुलाई बर्खास्त गरेको जनाएको छ ।

अस्पतालको डियुटी समयमा निजि क्लिनिकमा गएरमा काम गर्ने तथा हेटौंडा अस्पतालका बिरामीलाई आफ्नै निजि क्लिनिकमा बोलाउने कार्य गर्दै आएको २ जना चिकित्सहरुलाई हेटौंडा अस्पताल विकास समितिले यसअघि पनि पटकपटक स्पष्टिकरण सोधेको थियो । उनीहरुलाई २ पटकसम्म अस्पतालले निलम्बन पनि गरेको थियो ।

अस्पतालका अध्यक्ष प्रकाश पौडेलका अनुसार अस्पतालमा बिरामीको सेवा नगर्ने तथा जनताको सेवा नगर्ने भएपछि बर्खास्त गर्नुपरेको बताए । हाल अस्पतालमा २ जना सर्जन उलब्ध छ । रिक्त पदको आजभोलि नै विज्ञापन गरेर चिकित्सक नियुक्त गर्ने तयारी गरेको उनले जानकारी दिए ।