तालिममा सहभागीहरु ।

हेटौंडाः मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकामा निजी विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई ३ दिने क्षमता विकास तालिमको बिहीबार उद्घाटन भएको छ । मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले शिक्षकको क्षमता विकास तालिमको उद्घाटन गर्नुभएको हो । उहाँले शिक्षक आफू जति धेरै अपडेट हुन सक्यो, विद्यालय र विद्यार्थीहरुले अझ धेरै ज्ञान लिन सक्ने बताउनुभयो । उहाँले तालिम लिएर शिक्षकहरुले आफ्नो क्षमताको दायरा फराकिलो पार्न आग्रह गर्नुभयो ।

मनहरी गाउँपालिकाको निजी विद्यालयहरुको संगठन (प्याब्सन)को आयोजनामा भएको ३ दिने शिक्षक क्षमता विकास तालिम शनिबारसम्म चल्नेछ । तालिममा मनहरी गाउँपालिका ५ वटा निजि विद्यालयमा अध्यापन गराउने ३० जना शिक्षकहरुको उपस्थिति रहेको थियो । गाउँपालिकामा ६ वटा निजी विद्यालय रहेको छ ।

तालिमलाई सफराज भण्डारीले सहजीकरण गर्नुहुनेछ । तालिममा मनहरी गाउँपालिका वडा नम्बर ८ का दिलबहादुर स्याङ्तान, प्याब्सन मकवानपुरका सहकोषाध्यक्ष बिष्णुहरि सुवेदीलगायत सञ्चारकर्मी शिवकुमार काशीको उपस्थिति रहेको थियो ।