हेटौंडाः हेटौंडा–८, कमानेस्थित चन्द्रोदय माविमा अध्ययनरत विद्यार्थीले गठन गरेको चन्द्रोदय बाल साहित्य सञ्चार समितिको आयोजनामा शिवरात्रीको दिन संस्मरण र नियात्रा लेखन सम्बन्धी लघुकार्यशाला सम्पन्न भएको छ । कार्यशालामा सहभागी विद्यार्थीले संस्मरण, यात्रा संस्मरण तथा नियात्रालेखनबारेमा सिकेलगत्तै यात्रा संस्मरणहरू लेखेका थिए ।
कार्यक्रममा बाल साहित्य सञ्चार समितिका पदाधिकारीहरूका साथै ६ कक्षादेखि ११ कक्षासम्मका इच्छुक विद्यार्थीहरू गरी २३ जना सहभागी भएका थिए । कार्यशालामा विद्यालयका नेपाली भाषाशिक्षक रमेशमोहन अधिकारीले सहजीकरण गर्नुभएको थियो । चन्द्रोदय बाल साहित्य सञ्चार समितिका अध्यक्ष उज्ज्वल बरालको अध्यक्षतामा भएको कार्यशालाको उद्देश्यबारे आकृति भण्डारीले जानकारी गराउनुभए थियो ।