हेटौंडाः गाउँबासीलाई रोजगार बनाउने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकाले ‘अध्यक्ष रोजगार कार्यक्रम’ घोषणा गर्दै विभिन्न तालिममार्फत् रोजगार बनाउन सुरु गरेको छ । विभिन्न ७ प्रकारका तालिममार्फत् रोजगारमा जोड्ने उद्देश्यबमोजिम १६ जना युवालाई सेक्युरिटी गार्डको तालिम प्रदान गरिएको छ ।
गाउँपालिकाको आयोजना तथा जीफोर्स सेक्युरिटी प्रालिको प्राविधिक सहयोगमा प्रदान गरिएको ७ दिने तालिमको आइतबार समापन गरिएको छ । तालिम लिएकाहरुलाई जी फोर्सले नै रोजगारीको ग्यारेन्टी लिएको छ । तालिम लिनेमा ४ जना महिला र १२ जना पुरुष रहेका छन् ।
तालिम लिएकाहरुलाई केही समयभित्रै विभिन्न निकायमा मागको आधारमा सेक्युरिटी गार्डको रुपमा खटाइने जीफोर्सका अप्रेसन अधिकृत प्रेमबहादुर अधिकारीले बताउनुभयो । तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँबासीलाई क्षमताअनुसार रोजगारमा जोड्न आफूहरु लागिपरेको बताउनुभयो ।
अध्यक्ष रोजगार कार्यक्रमअन्तर्गत यसअघि १६ जनालाई ड्राइभिङ तालिम दिइएको थियो भने १० जनालाई होमस्टे तालिम प्रदान गरिएको थियो । त्यसैगरी ३५ जनाले हाल १ महिने कम्प्युटर तालिम लिइरहेका छन् भने ब्यूटीसियन र इलेक्ट्रिसियन तालिम सञ्चालनको क्रममा रहेको गाउँपालिकाका लघु उद्यम विकास सहायक मानसिं घलानले जानकारी दिनुभयो । सेक्युरिटी तालिम समापन कार्यक्रममा तालिम प्रशिक्षक गोकुल अधिकारी, लघु उद्यम विकास सहायक सावित्री मोक्तानलगायतको उपस्थिति रहेको थियो ।