हेटौंडाः कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरको सातौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष तेजराज अधिकारीको अध्यक्षता तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको हो ।
चार सय भन्दा बढी व्यवसायी आवद्ध रहेको संघले आसन्न मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि ४ जना उम्मेद्वारको घोषणा समेत गरेको छ । संघका अध्यक्ष तेजराज अधिकारी बस्तुगततर्फ सदस्य, नेत्रप्रसाद खतिवडा, जावेद हुसेन र कृष्णप्रसाद ढुंगाना वाणिज्यतर्फ सदस्यको उम्मेद्वार रहने बताइएको छ । साधारणसभाको उद्घाटन सत्रमा संघका अध्यक्ष तेजराज अधिकारीले व्यापार मेलाको नाममा सवैभन्दा बढी कपडा व्यवसायी मारमा पर्ने गरेको उल्लेख गर्नुहुँदै मकवानपुर उद्योग वाणिज्य संघले व्यापार मेला गरे कपडा व्यवसायी संघले उद्योग वाणिज्य संघसँगको आवद्धताको औचित्य नरहने चेतावनी दिनुभयो । साधारणसभामा व्यवसायीका विभिन्न संघका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।