हेटौंडाः हेटौंडामा जारी मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आज शनिबार हुने भएको छ । सेमिफाइनलको पहिलो खेल वडा नम्बर १० र १३ बिच तथा दोस्रो खेल वडा नम्बर ५ र १८ बिच हुने भएको हो ।
प्रतियोगिताअन्तर्गत् शुक्रबार भएको क्वार्टरफाइनल खेलमा वडा नम्बर १८ र १० सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबारकोे पहिलो खेलमा वडा नम्बर १८ ले वडा नम्बर ७ लाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । वडा नम्बर १८ लाई जित दिलाउन विमल घलानले खेलको छैठौं मिनेटमा तथा अयुर घलानले खेलको ४६ औं मिनेटमा गोल गरे । म्यान अफ द म्याच अनिष रोक्का घोषित भए ।
यस्तै शुक्रबारको दोस्रो खेलमा वडा नम्बर १० ले वडा नम्बर १९ लाई ट्राइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइन प्रवेश गरेको छ । निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । वडा नम्बर १० का तर्फबाट सुमन लामाले खेलकोे ३१ औं मिनेटमा गोल गरेका थिए भने वडा नम्बर १९ का सञ्जिवले खेलको ६८ औं मिनेटमा गोल गरेपनि टिमलाइ जित दिलाउन सकेनन् । खेलको म्यान अफ द म्याच वडा नम्बर १० का गोलरक्षक जितेश गोले घोषित भए ।
प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ । प्रतियोगिताको विजेताले २ लाख तथा उपविजेताले एक लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।