हेटौंडाः महालक्ष्मी विकास बैंक र मातृभूमि साहित्य समाज मकवानपुरले साहित्यमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । महालक्ष्मी र मातृभूमिले संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै आगामी फागुन २८ गते मातृभूमिले र २९ गते महालक्ष्मीले साहित्यकारलाई सम्मान गर्ने जानकारी दिइएको हो ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत् सत्रौं महालक्ष्मी साहित्य पुरस्कार २०७६ काठमाडौंका साहित्यकार डा. नवराज लम्साललाई प्रदान गर्ने भएको छ । गतवर्ष २१ हजार १ रुपैयाँ पुरस्कार राशि रहेको महालक्ष्मी साहित्य पुरस्कार यस वर्ष वृद्वि गरेर ५१ हजार रुपैयाँ पुर्‍याइएको महालक्ष्मी विकास बैंकका शाखा प्रबन्धक शम्भुप्रसाद पराजुलीले जानकारी दिनुभएको छ ।

मातृभूमि राष्ट्रिय स्रष्टा सम्मान २०७६ बाट कवि देवराज खरेल तथा मातृभूमि मकवानपुर श्री सम्मान २०७७ बाट केदारप्रसाद न्यौपानेलाई सम्मानित गरिने भएको छ । यस्तै, २५ हजार रुपैयाँ राशिको मातृभूमि राष्ट्रिय पुरस्कार २०७७ काठमाडौंका नाटककार सुनिल पोखरेल र निशा पोखरेललाई प्रदान गरिने भएको छ । १५ हजार रुपैयाँ राशिको ईश्वरी स्मृति पुरस्कार २०७५ चितवनका गजलकार पुष्प अधिकारी प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

१५ हजार रुपैयाँको नित्य गोविन्द स्मृति मातृभूमि संगीत पुरस्कार २०७६ मकवानपुरका बाबु क्षेत्रीलाई, १५ हजार रुपैयाँकै श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार २०७६ वीरगञ्जका वरिष्ठ समाजसेवी राजकुमार सिंधीलाई प्रदान गरिने भएको छ । ११ हजार रुपैयाँ राशिको होमनाथ बलदेवी मातृभूमि छन्द साहित्य सम्मान २०७७ चितवनका साहित्यकार केशवराज आमोदीलाई, २१ हजार रुपैयाँको मायादेवी मातृभूमि पुरस्कार २०७७ काठमाडौंका बालकथाकार कवि अनुराधा शर्मालाई प्रदान गरिने बताइएको छ ।

१५ हजार राशिको २०७६ र २०७७ सालको शेखर शर्मा रिजाल मातृभूमि शैक्षिक पुरस्कार क्रमशः सुनसरीका सुवर्णबहादुर थापा तथा चितवनका प्रा.डा. नारायणप्रसाद खनाललाई प्रदान गरिनेछ । १० हजार रुपैयाँको हातेमालो मातृभूमि युवा सिर्जनशील साहित्य सम्मान २०७७ मकवानपुरका सुवास खनाललाई, १५ हजार रुपैयाँको क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान २०७७ मकवानपुरका कवि डा. गणेश पौडेललाई र १५ हजार रुपैयाँको राजकुमार स्मृति मातृभूमि सम्मान २०७७ आसामका साहित्यका कृष्णबिक्रम राणालाई प्रदान गरिने मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेलले जानकारी दिनुभयो ।

७ हजार ५ सय रुपैयाँको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७७ मकवानपुरका पत्रकार सुवर्ण श्रेष्ठलाई, ७ हजार ५ सय एक रुपैयाँको झलकबहादुर बानियाँ स्मृति जीवन संघर्ष मातृभूमि सम्मान २०७७ हेटौंडाका बिसु लामालाई प्रदान गरिनेछ । ७ हजार ५ सय राशिको मंगलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान २०७७ अमर मावि हेटौंडाका दिव्या चौलागाईंलाई प्रदान गरिने समाजका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।