हेटौंडाः साविक विजेता एफसी मुण्डियालले सिराहामा जारी मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक सलहेश युवा क्लबसँग खेल्ने भएको छ । बिहीबार भएको दोस्रो सेमीफाइनल खेलमा आयोजक सलहेशले बीएफसी भरतपुरलाई २–० गोलअन्तरले पराजित गर्दै साविक विजेतासँग उपाधि भिडन्त पक्का गरेको हो ।
यसअघि बुधबार भएको पहिलो सेमीफाइनल खेलमा काठमाडौंको चर्चब्वाइज क्लबलाई टाइब्रेकरमा पराजित गर्दै एफसी मुण्डियाल दोस्रो संस्करणको मेयर कपमा पनि उपाधि नजिक पुगेको हो । फाइनल खेल भोलि शनिबार हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।