गुगल तस्विर ।

हेटौंडाः धरान–चतरा–हेटौंडा सडकखण्डअन्तर्गत बकैया गाउँपालिका–५, तिनतलेमा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार १३ वर्षीय बालकको मृत्यु भएको छ । बुधबार दिउँसो १२ बजेको समयमा हेटौंडाबाट बकैयातर्फ जाँदै गरेको ना ६ त ४५३५ नम्बरको सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका हेटौंडा–१७, पत्करीका १३ वर्षीय बालक दिलसन माझीको उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएको थियो । अस्पतालमा उपचारको क्रममा माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अम्बर बहादुर गजमेरले जानकारी दिनुभएको छ ।

दुर्घटनामा परी हेटौंडा–१७, पत्थरीकै ट्याक्टर चालक १७ वर्षीय सुनिल माझी र बकैया–७, भीरकोटका ५८ वर्षीय योगेन्द्रबहादुर राई घाइते भएका छन् । ट्याक्टर चालक सुनिल माझी सामान्य उपचारपछि प्रहरी हिरासतमा रहेको प्रहरीले जनाएको छ । अर्का घाइते राईलाई भने थप उपचारका लागि भरतपुर रेफर गरिएको छ ।