हेटौंडाः घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले प्रविधि हस्तान्तरण कार्यक्रममार्फत् उद्यमीलाई विभिन्न उपकरण वितरण गरेको छ । बागमती प्रदेश सरकारको लघु, घरेलु तथा साना उद्योग प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत् कार्यालयले बुधबार घरेलु तथा साना उद्यमीहरुलाई आवश्यक उपकरण वितरण गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले उद्यमीहरुलाई उपकरण हस्तान्तरण गर्दै सरकारले दिएको उपकरणलाई आफैंले किनेको सोचेर उपयोग गर्न आग्रह गर्नुभयो । सरकारले देश तथा नागरिकलाई समृद्ध बनाउन सीपमूलक तालिमसँगै आवश्यक उपकरणहरु प्रदान गर्दै आएको उहाँले बताउनुभयो । देशलाई समृद्धिको दिशामा लैजान कृषि र पर्यटन क्षेत्रको राम्रोसँग विकास गर्नुपर्नेमा प्रमुख खुलालले जोड दिनुभएको छ ।

लघु, घरेलु तथा साना उद्यमी प्रविधि हस्तान्तरण कार्यविधि २०७३ अनुसार विभिन्न उद्यमीहरुबाट प्राप्त प्रस्तावको मूल्यांकन गरेर ४६ उद्यमीलाई उपकरण वितरण गरिएको घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख जगन्नाथ दाहालले जानकारी दिनुभयो । प्रदेश सरकारको ८० प्रतिशत र उद्यमीको २० प्रतिशत लगानीमा २० लाख रुपैयाँ बराबरको विभिन्न ८ प्रकारका मेशिन तथा उपकरण वितरण गरिएको प्रमुख दाहालले बताउनुभयो । कार्यालयले सिलाइ मेसिन, चाँप कटर, केमिकल मिक्सिङ मेसिन, थोपा सिंचाई, हाते ट्याक्टर, ड्रिंकर मेसिन र मिल्क एनालाईजर वितरण गरेको छ ।

प्रदेश सरकारले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत् विभिन्न मेशिन, औजार तथा उपकरणहरु वितरण गरेको बताउँदै घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख दाहालले प्राप्त उपकरणको उचित सदुपयोग गर्न आग्रह गर्नुभयो । सिमित बजेटका कारण माग गर्ने सबैलाई उपकरण वितरण गर्न नसकेको भन्दै प्रमुख दाहालले हस्तान्तरण गरेको प्रविधि उपयोग भए नभएको अनुगमन गर्ने बताउनुभयो ।