हेटौंडाः मनहरी गाउँपालिका–४, मसिनेस्थित पशुपतिनाथ माविमा हाजिर हुन आउनुभएकी नर्सलाई विद्यालयमा स्वागत गरिएको छ । बागमती प्रदेश सरकारको विद्यालय नर्स कार्यक्रमअन्तर्गत् नियुक्ति लिई आउनुभएकी नर्स गायत्री मोक्तानलाई विद्यालय व्यवस्थापन समितिले स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ध्रुब खड्काले दोसल्ला ओढाएर मोक्तानलाई विद्यालयमा स्वागत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा समिति सदस्यहरु राधाकृष्ण सिंखडा, मीरा गौतम, विष्णु बल, सीता नेपाली, शिक्षक प्रतिनिधि मनोज चौलागाईं, विद्यार्थी प्रतिनिधि सन्ध्या हमाल, दिपेश ढकाललगायतको उपस्थिति थियो ।
विद्यालयमा नर्सको व्यवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालयमा स्वास्थ्य, सरसफाई, पोषणजस्ता कुरामा सुधार हुने अपेक्षा राखिएको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले बताउनुभयो । ५ सय ४४ बालबालिका अध्ययनरत पशुपतिनाथ माविसँगै यो बर्ष मनहरी गाउँपालिकाको राष्ट्रिय मावि सुनाचुरीमा पनि विद्यालय नर्स कार्यक्रम लागू भएको छ । मनहरीको रोटरी माविमा गतवर्ष नै विद्यालय नर्स कार्यक्रम लागू भएको हो । मनहरी गाउँपालिकामा रहेका ८ वटा सामुदायिक माध्यमिक विद्यालयमध्ये ३ वटा विद्यालयमा नर्स कार्यरत रहेका छन् ।