हेटौंडाः हेटौंडा–१०, सिमाचोकमा जुत्ता सिलाइरहेका व्यक्ति हुन् राम देयाल । सरल स्वभावका र गरिबीमा दैनिकी बिताउँदै आएका व्यक्ति हुन् राम देयाल । छिमेकी मुलुक भारतको रक्सौलका देयाल २० वर्षको उमेरमै हेटौंडा आएर जुत्ता सिलाउने पेसा सुरु गरेको हुन् । देयालले जुत्ता सिलाएर जीविका चलाएको ३५ वर्ष भयो ।
देयालले भारत सरकारले पटनामा आयोजना गरेको ६ महिने निशूल्क तालिममा सहभागी भई जुत्ता सिलाउने सीप सिकेका हुन् । देयालले ५ कक्षासम्म मात्रै अध्ययन गरेका छन् । परिवारिक समस्या र शिक्षाको महत्व नबुझ्दा पढाइ छाड्नु परेको देयालको भनाइ छ । तालिम सिकेकोले काम गरेर जीविका चलाउन सहज भएको देयालको भनाइ छ ।
हेटौंडा–१०, आनन्दटोलमा डेरा गरी बस्दै आएका देयाल बिहान ८ बजेदेखि बेलुकीको ६ बजेसम्म देयाल सिमाचोकको सडक छेउको पेटीमा बसेर जुत्ता सिलाउँछन् । देयालको परिवारमा श्रीमती, दुई छोरी र दुई छोरा गरी ६ जना छन् । देयाल एक्लै हेटौंडामा बस्दै आएका छन् । देयालका श्रीमती र छोराछोरी भारतमै बस्छन् । श्रीमती खेती किसानको काम गरिरहेको छ भने छोरा ग्रील उद्योगमा काम गरिरहेको छ । छोरा र छोरीहरुले बीचमै पढाइ छाडेको र छोरीहरुको भने विवाह भइसकेको छ । देयालले एकदिनमा बढीमा एक हजार रुपैयाँसम्म कमाउने गरेका छन् ।
आफूले रोजेको पेशाप्रति खुसी व्यक्त गर्दै पेशालाई निरन्तरता दिँदै आएको देयाल बताउनुहुन्छ । भारतमा भन्दा नेपालमा सजिलैसँग अम्दानी हुनुको साथै जुत्ता सिलाउन आउने ग्राहकहरु पनि सन्तोषजनक रहेको बताउनुहुन्छ । एक जोर जुत्ता सिलाएको एक सय रुपैयाँ लिने गरेको बताउनुभयो ।