नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विरोध खतिवडा ।

हेटौंडाः प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, सरकार र पार्टी जताततै विधि विपरित आक्रमण गरी ध्रुबे हात्ती झैं अराजक बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विरोध खतिवडाले बताउनुभएको छ । मंगलबार हेटौंडा–१९, नेवारपानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो आरोप लगाउनु भएको हो । ‘चितवन राष्ट्रिय निकुञ्जमा एउटा ध्रुबे हात्ती थियो’, खतिवडाले भन्नुभयो, ‘निकुञ्जभित्र रहनु पर्ने त्यो हात्ती गाउँ बस्तीमा छिरेर मान्छे मार्ने, घर भत्काउने र सुँढ हल्लाउँदै अराजकता मच्चाउँदै हिँड्थ्यो, अहिले प्रधानमन्त्री पनि त्यस्तै काममा लागेका छन् ।’

विधि, पद्धति, प्रक्रिया, संविधान आदि सबै भुलेर आफू मात्रै शक्तिशाली, आफू मात्रै जान्नेसुन्नेका रुपमा बुझ्नु नै केपी ओलीको समस्या रहेको उहाँले बताउनुभयो । अब अदालत र जनताको बलमा हुने आन्दोलनले केपी ओली परास्त हुने उहाँले दाबी गर्नुभयो । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले सरकारले फँट्याइँको सिमा नाघेको भन्नुहुँदै प्रदेश सभा समेत बन्दी बनाएर ओली समूहले अराजनीतिक व्यवहार गरेको बताउनुभयो । नेकपा प्रदेश कमिटी सदस्य ओमबहादुर ग्लान, जिल्ला सचिव प्रेमबहादुर पुलामी छिन्तु, जिल्ला अध्यक्ष मुनु सिग्देलले जनताको आधारभूत तह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मूलधारमा रहेकाले अब केपी ओली नेतृत्वको सरकारको भागभाग हुने बताउनुभयो । उहाँहरुले अदालत र आन्दोलनदेखि ओली डराएर आमसभामा अनेकन् शंका र आशंकाहरु व्यक्त गर्दै हिँडेको बताउनुभयो ।

कार्यक्रममा नेकपा हेटौंडा नगर इञ्चार्ज श्रीधर पोखरेल, जिल्ला कमिटी सदस्य नवराज सुवेदी लगायतले ओली सरकारको विरोध गर्नु भएको थियो । कार्यक्रममा जनता समाजवादी पार्टी र नेपाली काँग्रेस परित्याग गरी १२० जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध भएका छन् । जनता समाजवादी पार्टीका बागमती प्रदेश सदस्य प्रकाश थोकरसहित नेपाली कांग्रेसका समेत गरी १२० जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्दै प्रकाश थोकरले आफू पद र प्रतिष्ठाका लागि पार्टी नगरेको भन्दै जनताको आधारभूत वर्गको प्रतिनिधित्व गर्ने र सर्बहारा वर्गको हितका लागि बोल्ने पार्टी नेपाल कम्युनिष्ट पार्टी नै रहेकाले त्यसैमा समाहित भएको बताउनुभयो ।