हेटौंडाः रेडियो थाहा सञ्चारले १३ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार समाजका लागि योगदान पुर्याउने दुई व्यक्तित्वलाई सम्मान गरेको छ । सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रमको समापनमा कृषि क्षेत्रमा योगदान पुर्याएवापत नारायणप्रसाद देवकोटा र साहित्यमा योगदान पुर्याएवापत मुना अर्याललाई ‘थाहासम्मान २०७७’ प्रदान गरेको हो ।
सम्मानित भएका देवकोटा मकवानपुरे सहकारी अभियन्ता, दुग्ध उत्पादक सहकारी संस्था स्थापना गरी जिल्ला तथा केन्द्रीय दुुग्ध उत्पादक सहकारी संस्थालाई नेतृत्व दिँदै दुग्ध व्यवसायलाई सहकारी अभियानमार्फत् प्रबद्र्घनका लागि योगदान पुर्याउनुभएको थियो भने हेटौंडाकी मुना अर्याल विगत सत्र वर्षदेखि साहित्यमा सक्रिय भई समाजलाई योगदान पुर्याइरहनु भएको छ ।
साताव्यापी वार्षिकोत्सव कार्यक्रमको समापनमा आयोजित साहित्य सम्मेलनमा दीपक गौतम, छवि अनित्य, एसके निधन, मनोज पोखरेल, भावना सापकोटा, दिनेश शर्मा न्यौपाने, डीबी बर्तौला, अनिता न्यौपानेलगायत साहित्कारहरुले रचना वाचन गर्नुभएको थियो । रेडियो सञ्चालक अरुणराज सुमार्गीको अध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रमुख जिल्ला अधिकारी रिजालले रेडियोलाई वार्षिकोत्सवका अवसरमा बधाईं दिँदै थप सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।
रेडियोका सञ्चालक सुमार्गीले रेडियो सधैं निष्पक्ष सक्रियताको अभ्यासमा आवाज विहीनहरुको आवाज बनेर लागिपर्ने प्रतिबद्घता व्यक्त गर्नुभयो । रेडियोको सफलतामा साथ दिने स्रोता, शुभचिन्तक, विज्ञापनदाताप्रति उहाँले आभार व्यक्त गर्नुभयो । कार्यक्रममा साहित्यकार तुल्सी थापा, धनराज गिरी र बागमती प्रदेशका प्रेस रजिष्ट्रार रेवतीप्रसाद सापकोटाको आतिथ्य थियो ।