हेटौंडाः ७१ औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित ५ किलोमिटर खुल्ला दौड प्रतियोगितामा नेपाली सेनाले क्लिन स्वीप गरेको छ । प्रतियोगितामा प्रथमदेखि पाँचौं स्थानसम्म नेपाली सेनाका खेलाडीले नै आफ्नो नाम लेखाउन सफल भएका छन् ।

प्रतियोगितामा नेपाली सेनाका बुद्धराम तामाङ प्रथम भएका छन् । बिहीबार बिहान हेटौंडाको बुद्धचोकमा सुरु भएको खुल्ला दौडमा सहभागी ७३ जना मध्ये तामाङ प्रथम भएका हुन् । प्रतियोगितामा नेपाली सेनाका २५ जना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका ३३ जना सहभागी थिए । तामाङले १५ मिनेट ५२ सेकेण्डमा निर्धारित दूरी पार गरेर प्रथम स्थान हासिल गर्दा नेपाली सेनाकै धिरज राईले १५ मिनेट ५३ सेकेण्डमा पूरा गर्दै दोस्रो भए । यस्तै नेपाली सेनाकै राजकुमार घर्ती मगरले १६ मिनेट १३ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तृतीय स्थानमा रहे । यस्तै नेपाली सेनाकै आशिष गुरुङले १६ मिनेट ३१ सेकेण्डमा निर्धारित दूरी पार गर्दै चौथो हुँदा नेपाली सेनाका रन्जित सेजालले १६ मिनेट ४४ सेकेण्डमा निर्धारित दूरी पार गरेर पाँचौं स्थान हासिल गरे ।

प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १२ हजार, तेस्रो हुनेलाई १० हजार र चौथो तथा पाँचौं हुनेलाई ५–५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको संयोजन मकवानपुर जिल्ला खेलकुद विकास समितिले गरेको थियो । प्रतियोगितामा प्रथमदेखि पाँचौं स्थान हासिल गर्ने खेलाडीलाई आज शुक्रबार आयोजना गरिने प्रजातन्त्र दिवसको मूल समारोहमा पुरस्कृत गरिनेछ ।