हेटौंडाः वनमा आधारित उद्यमको विकास तथा उत्पादनको बजार विश्लेषणसम्बन्धी ४ दिने तालिम बिहीबारबाट हेटौंडामा सुरु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाका १० वटा सामुदायिक वनमा सञ्चालित वनमा आधारित उद्यमको विकास र उत्पादनको बजार विस्तारको सम्बन्धमा वनजन्य उद्यममा संलग्न सामुदायिक वन उपभोक्ता समितिका व्यक्तिहरुलाई तालिममा सहभागी गराइएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षता तथा महासंघको बागमती प्रदेश समितिका सचिवालय सदस्य रामहरि चौलागाईको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन कार्यक्रम भएको हो । हेटौंडाका ७ वटा सामुदायिक वन र मकवानपुरगढीका ३ वटा सामुदायिक वन उपभोक्ता समूहका सदस्यले वनजन्य उद्योग सञ्चालन गरिरहेका छन् । ‘एक वन, एक उद्यम’ नारासहित सामुदायिक वनलाई समुदाय र सदस्यको आम्दानीको स्रोतको रुपमा स्थापित गर्ने रणनीतिअनुरुप तालिमको आयोजना गरिएको सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले जानकारी दिनुभएको छ ।

तालिममा बजार विश्लेषण गर्ने, वन तथा कृषिमा आधारित उत्पादनहरुको उद्यम विकास योजना निर्माण गर्ने, वन तथा कृषिमा आधारित सञ्जाल गठन गर्ने विषयमा सहभागीलाई जानकारी गराइनेछ । तालिममा सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकसहित घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख जगन्नाथ दाहाल, जनक अर्याल, आरती पाठक, नूरप्रसाद गौतम, पुष्पम् घिमिरेले सहजीकरण गर्नुहुनेछ । तालिममा ३० जनाको सहभागिता रहेको छ ।