हेटौंडाः राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा जिल्ला सहकारी संघहरुको समस्या र समाधानका उपायसम्बन्धी दुई दिवसीय प्रदेशस्तरीय कार्यशाला गोष्ठी बिहीबार सुरु भएको छ । बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा प्रदेश राजधानी हेटौंडामा कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।

बागमती प्रदेशकोे भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यता रहेको गोष्ठीमा बागमती प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बीके, बागमती प्रदेशका सहकारी रजिष्ट्रार विक्रम पाण्डेलगायतको आतिथ्यता थियो । कार्यशाला राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मीनराज कँडेलको सभाध्यक्षतामा सञ्चालन गरिएको हो ।

कार्यशालालाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रदेश सरकारले साना उद्यमीलाई प्रवद्र्धन गर्ने उद्देश्यले सहुलियतपूर्ण ऋण उपलब्ध गराइरहेको बताउनुभयो । बागमती प्रदेश सरकारले यस वर्ष युवालक्षित रोजगार कार्यक्रमका लागि ३ अरब रुपैयाँ छुट्याएको बताउँदै मन्त्री लामाले कृषि विकास बैंक र साना किसान विकास बैंकबाट वार्षिक ३ प्रतिशत व्याजदरमा व्यक्ति तथा समूहले कृषि वा अन्य व्यवसाय गर्न उक्त सहुलियतपूर्ण ऋण लिन सक्ने जानकारी दिनुभयो । मन्त्री लामाले सहकारीहरुको समस्या समाधान गर्न प्रदेश सरकार अग्रसर भइरहेको बताउनुभयो ।

कार्यशाला गोष्ठीमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य एवम् जिल्ला सहकारी संघ मकवानपुर अध्यक्ष नारायणप्रसाद देवकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । आज शुक्रबारसम्म सञ्चालन हुने गोष्ठीमा बागमती प्रदेशका १३ जिल्लाका जिल्ला सहकारी संघ तथा विषयगत सहकारी संघहरुका प्रतिनिधिहरुको सहभागिता रहेको जिल्ला सहकारी संघ मकवानपुरका व्यवस्थापक गोविन्द दाहालले जानकारी दिनुभयो ।