गत वर्ष सामूहिक बेल विवाहमा सहभागी कन्याहरु । फाइल तस्वीर ।

हेटौंडाः बसन्त पञ्चमीको अवसरमा हेटौंडामा ७५ कन्याको सामूहिक बेल विवाह कार्यक्रम भएको छ । हेटौंडास्थित इही यज्ञ सुवर्णकुमार बेल विवाह गुठीले २०२९ सालदेखि सामूहिक बेल विवाह आयोजना गर्दै आएको छ ।

किशोरीहरुमा रजश्वला हुनुभन्दा अघि नेवारी समुदायको महत्वपूर्ण कर्मको रुपमा रहेको बेल विवाहलाई धार्मिक परम्पराअनुसार आयोजना गर्न सामूहिक बेल विवाहको आयोजना गरिएको गुठीका अध्यक्ष हरिशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सोमबार र मंगलबार दुई दिन आयोजना गरिएको सामूहिक बेल विवाहमा मूल पण्डित रमेश राजोपाध्यायको नेतृत्वमा रजनी राजोपाध्याय, सत्यनारायण कर्माचार्य र श्रीकृष्ण जोशीको समूहले विवाह कर्म गराउनुभएको हो । पण्डितको समूह पनौतीबाट आएका हुन् ।

बेल विवाहको धार्मिक विधिका साथै आवश्यक सामग्री जुटाउन एउटा परिवारका लागि मात्रै असहज हुने भएकोले २०२९ सालदेखि नै सामूहिक बेल विवाहको आयोजना गर्दै आएको हो । हेटौंडामा हुने सामूहिक बेल विवाहमा मकवानपुर जिल्लाबाहेक चितवन, रौतहट र काठमाडौंबाट समेत किशोरीहरु ल्याइएका छन् । गुठीले न्यूनतम शूल्क लिएर बेल विवाहको कार्य गर्दै आएको छ ।