हेटौंडाः नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकाले कांग्रेसले विरोध गर्दै आएको बताउनु भएको छ । नेपाली कांग्रेसले लोकतन्त्र तथा विधिको शासनमा विश्वास गर्ने उल्लेख गर्नुहुँदै नेता बानियाँले संसद विघटनको विरोधमा कांग्रेसले शक्ति प्रदर्शन गर्न नचाहेको बताउनुभयो ।

सोमबार हेटौंडामा आयोजित विरोधसभालाई सम्बोधन गर्नुहुँदै नेता बानियाँले आगामी चुनावमा कांग्रेसले आफ्नो शक्ति प्रदर्शन गर्ने स्पष्ट पार्नुभएको छ । कांग्रेस प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा रहेको र अदालतको निर्णय मान्ने पनि नेता बानियाँकोे भनाइ छ । नेपाली कांग्रेस सधैं लोकतन्त्रको पक्षमा रहेको उल्लेख गर्नुहुँदै संसद विघटनको विषयमा न्यायपालिकाले छिटो फैसला गर्नुपर्ने धारणा राख्नुभयो ।

विरोध सभाअघि नेपाली कांग्रेस मकवानपुरले पार्टी कार्यालयबाट विरोध र्‍याली निकालेको थियो । पार्टी कार्यालयबाट सुरु भएको विरोध र्‍याली कांग्रेस चोक, मानसचोक, लोकप्रिय होटल हुँदै मकवानपुर उद्योग वाणिज्य संघ चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोधसभालाई नेपाली कांग्रेस हेटौंडा नगर सभापति आन्नदराम पराजुली, क्षेत्रीय सभापति ताराप्रसाद लामिछानेलगायतले सम्बोधन गर्नुभएको थियो ।